कास्की बक्सिङ संघद्वारा साग स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान

पोखरा स्पोर्टस । कास्की जिल्ला बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने तिन जना खेलाडी, प्रशिक्षक सहित नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई सम्मान गरेको छ ।

संघले पोखरामा शुक्रवार एक कार्यक्रमको आयोजना गरि सागमा स्वर्ण पदक विजेता खेलाडी भुपेन्द्र थापा मगर, मीनु गुरुङ र सनिल शाही, नेपाल बक्सिङ संघका केन्द्रिय अध्यक्ष अवाले, मुख्य प्रशिक्षक प्रकाश थापा मगर र  सहायक प्रशिक्षक शुरेस मल्ललाई सम्मान गरेको हो । सो कार्यक्रममा कास्की जिल्लाको वक्सिङ खेलको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै पत्रकारद्वय केशव पाठक र धन बस्नेतलाई पनि सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा वोल्दै संघका केन्द्रिय अध्यक्ष अवालेले यस्तो सम्मानले भावी पुस्ताका खेलाडीलाई उर्जा दिन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कास्कीमा बक्सिङ खेलको सम्भावना रहेको बताउँदै जुनियर तहबाट नै बक्सिङको विकास गर्न सके त्यसले नेपालको बक्सिङ खेलको बिकासका लागि थप सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो–“एकैपटक ‘क्वालिटी’ खोज्ने होइन हामीले ‘क्वान्टिटी’ बाट क्वालिटी खोज्यौं भने त्यसले बक्सिङ खेलको विकासमा सहयोग पुग्छ ।” उहाँले यस कार्यकालमा बक्सिङ खेलले निकै फड्को मारेको दावी समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराईले खेलकुदमा राजनितीक प्रभावले खेलकुदको अवस्था खस्किएको बताउनुभयो । उहाँले बक्सिङमा नेपालको भविष्य उज्जवल रहेकोले खेलाडीको भावनालाई आत्मसाथ गर्न सक्ने नेतृत्व आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“अहिलेको खेलकुदको नेतृत्वले खेलाडीको भावना वुझ्न र आफ्ना दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ ।” उहाँले सवै खेलाडीलाई आफ्नो अधिकारका वारेमा निर्धक्क भएर आफेना कुरा राख्न सुझाव समेत दिनुभयो ।

संघका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रशिक्षक प्रकाश थापा मगर र संघका सचिब सञ्जिव श्रेष्ठले बक्सिङ खेलको विकासका लागि सवैको साथ र सहयोगको आवश्यक्ता रहेको बताए थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close