
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवे बीच शनिबार भेटवार्ता भएको छ ।
सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर भेटवार्ता भएको हो । कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी समेत भएको थियो ।

साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसंग भेट गर्नु भएको हो । त्यस एसियाली खेलकुद आयोजनका लागि रियादसंगै कतारको दोहाबीच प्रतिस्पर्धा हुन लागेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो ।

राजदूतसंगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसंग थप छलफल हुने बताउनु भयो । उहाँले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठसंगै महासचिव श्रेष्ठले मस्कटमा हुने साधारण सभामा भाग लिनु हुनेछ । त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीसंग थप भेटघाट गर्नेछ । राजदूत आरवेसंगको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
