गण्डकी प्रदेश सरकार द्वारा साग विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद सहित सम्मान

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागी भई विजेता भएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई गण्डकी प्रदेश सरकारले नगद सहित सम्मान गरेको छ ।

सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश सरकारले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ४७ जनालाई नगद सहित सम्मान गरेको जनाएको हो । “हामीले कोभिड १९ का कारण सबैलाई एकै ठाउँमा भेला गराएर सम्मान त गर्न सकेनौ तर उनीहरुलाई सम्मान वापतको रकम बैक मार्फत पठाएका छौं”, मन्त्री नर देवी पुन मगरले भनिन ।

सरकारले सागका विभिन्न खेलकुदमा सहभागी भई विजेता रहेका ४० जना खेलाडी, ५ जना प्रशिक्षक र दुई जना व्यवस्थापकलाई सम्मान गरेको मन्त्रालयका उपसचिब तेज प्रसाद काफ्लेले बताए । प्रदेश सरकारले एकलतर्फ स्वर्ण पदक विजेतालाई १ लाख, टिम गेम स्वर्ण विजेतालाई ७५ हजार, एकलतर्फ रजतलाई ७० हजार, टिमतर्फ रजतलाई ५० हजार, एकल तर्फ काश्य विजेता लाई ४० हजार, टिमतर्फ काश्य विजेतालाई ३० हजार प्रदान गरेको छ ।

यसै गरि दुई एकल तर्फ रजत पदक जित्नेलाई थप ५० हजार, टिम गेममा थप काश्य पदक जित्नेलाई ३० हजार प्रदान गरेको छ भने स्वर्ण पदक जित्ने प्रशिक्षकता र व्यवस्थापक लाई ५० हजार, रजत पदक जित्नेलाई ३० हजार र काश्य पदक जित्नेलाई २० हजार प्रदान गरेको छ । प्रदेश सरकारले खेलाडीलाई सम्मान तथा पुरस्कार स्वरुप वापत २३ लाख ९५ हजार खर्च भएको जनाएको छ ।

गण्डकी प्रदेशबाट सहभागी खेलाडी मध्ये तेक्वान्दोकी खेलाडी पार्वती गुरुङले १ लाख २५ हजार पाएकी छन । पार्वतीले एक स्वर्ण र काश्य पदक जितेकी थिइन भने करातेमा स्वर्ण पदक विजेता नविन रसाइलीले १ लाख प्राप्त गरेका छन । सबैभन्दा वढी रकम प्राप्त गर्नेमा पौडी खेलका दुवाना लामा रहेका छन । उनले दुई रजत र तिन काश्य पदक जित्दै प्रदेश सरकारबाट १ लाख ९५ हजार हात पारेका छन ।

तेक्वान्दोकी रजत पदक विजेता प्रशंसा क्षेत्रीले ७५ हजार, फुटबलका सुमन अर्यालले ७५ हजार, उषु खेलकी विन्दु पुन र कराते खेलकी अनु गुरुङले जनही ७० हजार पाएका छन । टेवल टेनिसमा एक रजत र एक काश्य पदक विजेता विनेश खनियाले ७५ हजार, साइक्लिङतर्फ रजत पदक विजेता उषा खनाल र जमुना थापाले जनही ७० हजार, महिला भलिवल तर्फ नेपालका लागि ऐतिहासिक काश्य पदक जित्न सफल गण्डकी प्रदेशबाट सहभागी अरुणा शाही, उषा भण्डारी, सोफिया पुन, हिरा केसी, कमला पुन र एलिना गुरुङले जनही ५० हजार नगद पाएका छन ।

त्यसै गरि महिला बास्केटबलतर्फ रचना श्रेष्ठ, अनुषा मल्ल, अलिषा मल्ल, प्रिती तुलाचनले नगद ५० हजार प्राप्त गरेका छन । टिममा सहभागी अनुषा र अलिषा दिदी वहिनी हुन । महिला फुटबलकी टिम सदस्य सावित्री भण्डारीले ५० हजार, ट्राइयाथोलनकी केशरी थापा मगरले ५० हजार, खोखोकी धनमाया दर्लामी, ह्याण्डबलकी झिन माया थापा मगर र फेन्सिङकी रिता पाठकले जनही ५०–५० हजार प्राप्त गरेका छन । एकल तर्फ वक्सिङमा रजत जित्ने संगिता सुनार र तेक्वान्दोकी निमा गुरुङले जनही ७०–७० हजार प्राप्त गरेका छन ।

यसै गरि टिम तथा एकल काश्य पदक जित्ने तर्फ पुरस्कार प्राप्त गर्नेमा राजकुमार रसाइली, सोम बहादुर कुमाल, योगेन्द्र शेरचन, मोनिका रानामगर, प्रदिप खड्का, नविन मगर, कृष्ण थापा, अमृत थापामगर, शिव बहादुर बराम र करण केसी रहेका छन ।

यसै गरि प्रशिक्षकतर्फ बसन्त थकाली, सुरेश मल्ल ठकुरी, हिरा बहादुर थापा, विकास शाक्य र कौशिला खत्री रहेका छन भने व्यवस्थापक तर्फ शान्ती थापा र लोकेन्द्रमान श्रेष्ठ रहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close