पोखरा, नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको सहारा युकेका अध्यक्ष कुमार गुरुङले जनाएका छन ।
आहा रारा गोल्ड कपको कार्यक्रम सकेर नेपाल बाट बेलायत फर्कनु अघि अध्यक्ष गुरुङले पोखरा स्पोर्टस संग कुरा गर्दै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण ईङ्गल्याण्ड फुटबल संघले प्रतियोगिता लाई स्थगन गर्ने निर्णय सुनाएको जानकारी दिए ।
इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले समेत जनाएको छ । एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो । उक्त मैत्रीपूर्ण खेल आगामी जेठ १२ (२०२० मे २५) गतेका लागि तय भएको थियो ।
गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ । उक्त खेल युके स्थित अल्डरशट फुटबल स्टेडियममा हुने तय भएको र सो को लागि अग्रिम टिकट समेत खुल्ला गरिएको थियो ।
