
पोखरा, वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको चौथो दिन ४ खेल सम्पन्न भएका छन । मंगलबार भएको खेलमा आयोजक वेगनास ‘सि’ राईजिङ्ग स्टार युथ क्लव संग २–१ गोल अन्तरले आफ्नै मैदानमा पराजित भएको छ ।
पहिलो हाफमा पेनाल्टी मार्फत गोल गरेको राईजिङ्गले दोश्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेको थियो । वेगनासको तर्फ वाट सुरज क्षेत्रीले सान्त्वना १ गोल गरेका थिए । गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि समयमा गोल गर्न नसक्दा आयोजक वेगनासले पराजय भोग्नु परेको हो ।
यसै गरि सम्पन्न पहिलो खेलमा आयोजक वेगनास ‘बि’ ले ईन्द्रेणी युवा क्लवलाई २ – १ गोल अन्तरले पराजित गरेको छ । वेगनासको संघर्षपुर्ण जितमा सौगात थापा र बिज्ञान कोईरालाले समान १÷१ गोल गरेका हुन् भने जवाफमा ईन्द्रेणीले सान्त्वना १ गोल फर्काएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा शिशुवा एफ सि ले एन जि वाई सि गगनगौडा शून्यका विरुद्ध २ गोलले पाखा लगाउदै क्वाटर फाईनल प्रवेश गरेको छ । त्यस्तै अर्को खेलमा वेगनास रेडले हिमाल एन्ड रक्ष मेमोरियल माथि ५–० गोलको फराकिलो जित दर्ता गर्दै क्वाटर फाईनल प्रवेश गरेको छ । आयोजक वेगनास रेडको जितमा सचिन गुरुङ्गले व्यक्तिगत २ गोल गरेका थिए भने क्याप्टेन रबि थापा, समीर कार्की र सन्तोष गुरुङ्गले समान एक एक गोल गरेका हुन् । यो प्रतियोगिता कै फराकिलो जित हो ।
प्रतियोगितामा बिजयी टिम क्वाटरफाईनल प्रवेश गरेका छन् भने प्रि क्वाटरका बाँकी ४ खेल बुधबार हुने कार्यक्रम संचालक सचिन रानाभाटले जानकारी दिएका छन् ।
यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन । प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५–५ हजार प्राप्त गर्नेछन् ।
