
केशव पाठक/पोखरा,
यूवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार)ले सहारा क्लवले गर्व गर्ने लायक काम गरेको बताएका छन ।
पोखरा १७ स्थित सहारा एकेडेमीको अवलोकनको क्रममा मन्त्री विश्वकर्माले उक्त कुरा बताएका हुन । सहाराले आफ्नो मेहनतले आफ्नै लगानी र देश विदेश बाट सहयोग जुटाएर गरेको कामले सबैलाई जहाँ जाँदा पनि उभिएर सहाराको उदाहरणको रुपमा गौरवका रुपमा भन्न सकिने अवसर प्रदान गरेको बताए ।

सहारामा आउँदा आफ्नै घरमा आएको भान हुने बताउँदै सहाराले खेल क्षेत्र विशेष गरि फुटबलमा उल्लेख्निय भूमिका प्रदान गरेको बताउँदै सहारामा आश्रित बालकहरुलाई आफ्नो परिवार र समाज सङ्गै देशको गौरव बढाउन आग्रह गरे । हिजोको प्रतिकुलताका बावजुद नेपालको खेलकुदले फड्को मारेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई वाचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहाभागिलाई वाचुञ्जेल मासिक ४ हजार प्रदान गर्ने गरि सरकारले निती बनाएको बताए ।
राज्यले र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै १३ औं दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको जानकारी दिंदै भने–“अव खेलेर त्राँच्ने आधार राज्यले खडा गरिसकेको छ, अव कुनै द्विविधा छैन ।” खेलाडीको मनोवल उच्च बनाउन इतिहासमानै पहिलो पटक यति धेरै खेलाडीलाई एकैपटक सम्मान गर्न लागिएको मन्त्री विश्वकर्माले बताए ।
मन्त्री विश्वकर्माले राज्यले गर्ने काम एक निजी संस्थाले गर्दै आएकाले राज्यको तर्फबाट पोखरामा आयोजना हुने आहा ! रारा ! फुटबल प्रतियोगिताका लागि वार्षिक ५ लाख रुपैया सहयोग आउने गरी रातो किताबमै पार्ने तयारी गरिएको जनाएका छन । एकेडेमीको निरिक्षण पश्चात सहारा एकेडेमीका लागि समेत आफूले केही गर्न सोच बनाउने भए पनि त्यसका लागि केही समय पर्खन उनले आग्रह गरेका छन ।
पहिलो पटक सहारा एकेडेमी पुगेका मन्त्री विश्वकर्माले सहाराको एकेडेमी भवन लगाएत खेलकुद मैदानको अवलोकन गरेका थिए । उनलाई सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बरालले स्वागत गरेका थिए ।
सो अवसरमा एकेडेमीमा सहारा युकेका सल्लाहाकार महेश गुरुङ, सहरा युकेका महासचिब धनु थकाली, कार्य समिती सदस्य योगेश गुरुङ, सदस्य नरजङ्ग गुरुङ्ग लगाएतले मन्त्री विश्वकर्मालाई सहारा युकेको तर्फ बाट स्वागत गरेका थिए ।तस्विरः सुदर्शन रञ्जित
