
पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद (साग) सुरु हुने पूर्व सन्ध्यामा सहारा क्लब पोखराले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सरसफाईका सङै पृथ्बीचोक देखि चाइनपुल सम्म २८ वटा राष्ट्रिय झण्डा समेत राखेको छ ।
सहारा क्लबले पृथ्बीचोक देखि चाइन पुल क्षेत्र सम्म सरसफाई गरेको हो । सहारा क्लबले सुरु गरेको सरसफाई अभियानको सुरुवात गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरालाई सागमय बनाउन सबैलाई आग्रह गरे ।

सहारा क्लबले सामाजिक र खेलकुद क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै राखेप सदस्य गुरुङले सबै संघ संस्थालाई यो अभियानमा जुट्न र पोखरालाई साग अवधीभर आ–आफ्नो टोल क्षेत्रमा सरसफाई गरि विदेशी पाहुना तथा खेलाडीलाई स्वागत गर्न आग्रह गरे ।

मंसिर १५ देखि औपचारिक रुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा पोखरामा हुने ८ खेलहरु हुने भएकोले पनि यसको महत्व रहेको जनाउँदै राखेप सदस्य गुरुङले सहारा क्लबले गरेको अभियानका लागि धन्यबाद समेत व्यक्त गरे ।

सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाको नेतृत्वमा भएको सरसफाई अभियानमा पूर्व अध्यक्ष बिक्रम थकाली लगाएत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।
