१३ औं साग तयारी तीव्र : फुटबल स्टेडियमको प्यारापिट धमाधम जोडिँदै

पोखरा, मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम भइरहको छ ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो । मैदानको बनाउने जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिए ।

‘आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ म्यानेजर बरालले भने, ‘५ दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ ।’ उनले प्यारापिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए ।

खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्नेसमेत बरालले जानकारी दिए । ‘केही दुबो आउन बाँकी छ । त्यो दुबो पनि साँझसम्म आइपुग्छ,’ उनले भने, ‘दुबो आइसकेपछि साँझबाटै हामीले काम सुरु गरिहाल्छौं ।’
मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन् । उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ । ‘रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ । बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ,’ उनले भने ।

मंसिर १५ देखि २५ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ । पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ । पोखरा हुने खेलमा ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, ब्याडमिन्टन, महिला फुटबल र भारोत्तोलन छन् । सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ ।
तस्बिर : १३ औं साग प्रचारप्रसार तथा प्रकाशन समिति, पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close