
पोखरा, २० साउन । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखरामा ट्राफिक लाइट र सिसी टिभीको व्यवस्था हुने पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले बताएका छन ।

कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक व्यवस्थापन गर्न ट्राफिक (डिभाइडर) कोन हस्तान्तरण कार्यक्रममा प्रमुख जिशीले उक्त धारणा व्यक्त गर्दै अब महानगरको सम्पूर्ण ध्यान साग खेलकुद सफल बनाउने योजनाका साथ अगाडी बढेको बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने,‘ अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन सम्बन्धी काम गरिनेछ ।’ प्रमुख जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिर भित्रमा सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सिसिटिभी जडानको योजना समेत रहेको जानकारी दिए ।
ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि सुधार गरेर लैजान महानगर लागि परेको उनको भनाइ छ । पोखराका केही सडकहरुमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उनले औल्याए । भदौ १ गतेदेखि पोखरा भित्र सञ्चालन हुने सार्वजनिक यातायात बसहरुमा इ—टिकटिङ लागू गरिने र त्यसलाई क्रमश कार्ड सिस्टमा लैजाने तयारीसहित काम भइरहेको जिसीले जानकारी दिए । महानगरपालिकाले जनताले तिरेका करबाट नै ट्राफिक कोण वितरण गरेकाले यो जनाताको सम्पत्ति भएकाले जतन गर्न आम नगरबासीलाई प्रमुख जिसीले आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख, डिआइजी विनोद शर्मा घिमिरेले ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । पोखराको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन प्रयास गरिरहेको बताउँदै डिआइजी घिमिरेले जनशक्ति व्यवस्थापनमा पनि प्रदेश प्रहरी कार्यालयले ध्यान दिइरहेको बताए । सुन्दर पोखरालाई अझ सुन्दर बनाउनमा सबैको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ । कार्यक्रममा एसपी वीरेन्द्रकुमार बस्याल, पोखरा महानगरपालिका इन्जिनियर सुन्रेन्द्र पौडेलले पोखराको ट्राफिक व्यवस्थापनको बारेमा बोलेका थिए । जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत रहेपनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।
महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक मुरारी मिश्रलाई हस्तान्तरण गरेका हुन् ।
तस्बिरः सुदर्शन रंजित
