खेलाडीलाई बिमा अनिवार्यः सदस्य–सचिव सिलवाल, निवर्तमान सदस्य सचिब विष्टको बिदाई

पोखरा, २६ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् ।

राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै सदस्य सचिब सिलवालले खेलाडीलाई बिमा अनिवार्य गरिनु पर्ने कुरामा जोड दिंदैं भने–‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता विमा गर्नै पर्छ ।’ सदस्य–सचिव सिलवालले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने कुतत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नु पर्ने धारणा व्यक्त गर्दै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए ।

सदस्य सचिब सिलवालले बाहिरबाट हायर गरिएको व्यक्तिले नभइ परिषद्कै कर्मचारी स्वयंले आफ्नो संस्थालाई मजबुत बनाउनु पर्ने बताउदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए । ‘यहाँ धेरै कर्मचारीहरुसंग लामो समय काम गरेको छ, ‘हायर’ गरेको व्यक्तिले होइन तपाईंहरुले नै परिषद्लाई मजबुत बनाउने हो’ सदस्य–सचिव सिलवालले भने–‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिन तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ, अनुशासित हुन्छ ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउदै वर्तमान सदस्य–सचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

निवर्तमान सदस्य–सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासंग जोडिएको विषय भएकाले समयमै हुनु पर्नेमा जोड दिदै यस विषयमा वर्तमान सदस्य–सचिव पनि सचेत रहेको बताए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई सदस्य–सचिव बनाएर पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले निवर्तमान सदस्य–सचिव विष्टको कार्यकालमा पनि धेरै राम्रा कामहरु भएको बताए ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले लामो समयदेखि रोकिएको कर्मचारीहरुको बढुवाका लागि वर्तमान सदस्य–सचिवलाई पहल गरिदिन आग्रह गर्दै करार कर्मचारीहरुलाई स्थायी गर्ने विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा कर्मचारी संघले निवर्तमान सदस्य–सचिव विष्टलाई खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close