पोखरामा खुल्यो नयाँ स्केट पार्क, स्केट खेल्नेहरुको आर्कषण ह्वात्तै बढ्यो

केशब पाठक,
पोखरा, १३ असार । पोखरा लाई खेलकुदको राजधानी बनाउने चर्चा संगै निजी क्षेत्र समेत खेलकुदमा लगानीका लागि अगाडी बढेका छन । पोखराका तिन जना ब्यबसायीहरु मिलेर शुरु गरको यो स्केट पार्क पोखरा १० बुद्ध चोकमा खोलिएको हो । स्केट पार्क खुले संगै खेल्नेहरुको आर्कषण पनि ह्वात्तै बढेको मात्र होइन यो पार्क नेपालको अन्य स्केट पार्क भन्दा ठूलो रहेको छ ।

पोखरामा स्केटका नयाँ खेलाडी उत्पादन गर्न र यो खेल प्रति यूवा पुस्तालाई आर्कषण गर्न नयाँ स्केट पार्क खोलिएको हो । करिब दुई करोडको लगानीमा नयाँ स्केट पार्क शुरु भएको पोखरामा अन्य स्थानमा खोलिएका स्केट पार्क भन्दा यो नितान्त अलग र आकारको हिसाबले पनि ठूलो तथा एकैपटकमा धेरै खेलाडीहरु सिक्न र खेल्न सक्ने तरिकाले निर्माण गरिएको छ ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको यो स्केट पार्कमा एकै पटकमा ३ सय जनाले खेल्न र अभ्यास गर्न सक्छन । यो स्केट पार्क नेपालमा भएका मध्ये ठूलो स्केट पार्क रहेको दाबी यसका संचालक कृष्ण प्रसाद ढकालको छ । बिदेश र कहिले काँही टेलिभिजनमा देखेको कारणले नै स्केटमा लगानी गर्न अगाडी बढेको उनको भनाई छ । ‘स्केट खेलको प्रवद्र्धन संगै खेलाडीको उत्पादन गर्ने हाम्रो मुख्य उद्धेश्य हो, यसमा हामी सफल हुन्छौ भन्ने लागेको छ’ उनले भने ।

‘द स्केट पार्क’ को नामाकरण गरि शुरु भएको यो पार्कमा आउने सबै खेलाडीलाई सुबिधा दिइएको छ । ‘खेलाडीलाई आवश्यक पर्ने जुता, हात र खुट्टामा लगाइने सेफ्टी बेल्ट र हेलमेट लगाएतका सामाग्री हामी आफैले उपलव्ध गराएका छौं’ संचालक ढकालले भने–‘यति सम्म कि हामी खेलाडीको दुर्घटना बिमाको तयारी पनि गर्दैछौ ।’ अहिले स्केट पार्कमा सदस्य हुन आउनेले मासिक ४५ घन्टा खेल्न पाउने गरि ३ हजार दर तोकिएको छ ।

स्केट पार्कको संचालन संगै पोखरा बाट अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको अर्का संचालक प्रेम बहादुर कार्की बताउँछन । ‘मलाई धेरै प्रकारका ब्यबसायका लागि सल्लाह आयो तर किन हो कुन्नी मलाई यो खेलले आर्कषण गर्यो’ कार्कीले भने–‘हामी ब्यबसाय संगै केही नयाँ गर्ने र समाजसेवा संगै देश चिनाउने कुरालाई जोड्न मन लागेको हुनाले पनि स्केटमा लगानी गरेका हौं ।’

पोखरा स्केट पार्कका लागि नयाँ केन्द्र बन्न सक्ने संचालक कार्की बताउँछन । ‘हामीले पोखरालाई खेलकुद शहरको रुपमा परिचित गराउन पनि स्केट पार्कको महत्व छ भन्ने कुरालाई स्थापित गर्न चाहन्छौ’ उनले भने–‘फिजिकल फिटनेश संगै यूबा जमातलाई कुलत बाट टाढा राख्न यो स्केट पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्केट खेलको महत्व एकदमै रहेकोले यहाँ बाट केही समय पछि पक्कै पनि देश चिनाउने खेलाडी उत्पादन हुने उनले बताए ।

उद्घाटन पनि नभई शुरु भएको स्केट पार्कमा बिहान र बेलुका गरि ५ सय भन्दा बढी खेलाडीहरु सिक्न र खेल्न स्केट पार्कमा पुग्ने गरेका छन । ‘घरमा बसेर ईन्टरनेटमा झुण्डिनु भन्दा कम्तिमा पनि स्वास्थ्यका लागि पनि फाइदा पुग्ने भएकोले अभिभावकहरुले आफ्ना छोरा–छोरीलाई स्केट पार्कमा ल्याउने गरेका छन’ अर्का संचालक मोती प्रसाद पौडेल (सानुभाई) ले भने–‘स्केटको यस्तो आर्कषण हुन्छ भन्ने हामीलाई लागेको नै थिएन ।’

अहिले स्केट पार्कमा सबिता गुरुङ प्रशिक्षकका रुपमा कार्यरत रहेकी छन । काठमाण्डौ ६ महिना अघि मात्रै स्केट देखेकी सबिता अहिले स्केटका सबै चालहरु जान्ने मात्रै होइन प्रशिक्षक नै भएर रोजगार समेत प्राप्त गरेकी छन । ‘एक–दुई दिन मात्रै हो अलि कन्ट्रोल गर्न गाह«ो हुने त्यस पछि त एकदमै सजिलो हुन्छ’ उनले भनिन–‘खुट्टा ब्यालेन्स गर्न नजान्नेले पनि दुई तिन पछि राम्रो संग खेल्न सक्छन, अनि जति सिक्छन त्यती उनीहरुमा ‘कन्फिडेन्स’ बढ्दै जान्छ र एक जनाले दुई तिन घन्टा सम्म लगातार खेल्छन ।’

पोखराको यो पार्क ‘एक्स्ट्रा’ नै रहेको प्रशिक्षक सबिताको भनाई छ । अहिले एक पटकमा १ सय जनाले सजिलै संग खेल्न सक्छन । पार्क खुले संगै खेल्न आउनेको भिड पनि उत्तिकै बढेको र सिके संगै अरु भन्दा आफू कसरी जान्ने हुने होड पनि उत्तिकै बढेको सबिताले बताइन । ‘अहिले अभिभाबक संगै छोरा छोरीहरु पनि संगै आएर सिक्ने र खेल्ने बातावरण बढ्दै गएको छ’ उनले भनिन–‘यो राम्रो संकेत हो, घरमा बसेर इन्टरनेटमा समय बिताएर शरिर बिर्गानु भन्दा यसले स्वास्थ्यमा समेत सकारात्मक प्रभाब पार्छ, म अरु अभिभावकलाई पनि स्केट खेल्न सुझाब दिन्छु ।’ अहिले स्केट पार्कमा ८ वर्ष देखि ५० वर्ष सम्मकाहरु आएर खेल्ने गरेको उनले बताइन ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close