
केशब पाठक,
पोखरा, ३ असार । गण्डकी प्रदेशका विभिन्न १० जिल्लामा खेलकुद पूर्वाधारका लागि संघिय सरकारले २०७६/०७७ को बजेट बिनियोजित गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रंगशाला निर्माणका लागि ४० लाखका दरले बजेट बिनियोजित गरिएको छ भने १३ औं दक्षिण एशियाली खेलकुद (साग) र हाइ अल्टिच्यूड खेलकुद पूर्वाधारका लागि कास्कीमा मात्रै २५ करोड भन्दा बढी रकम बिनियोजित गरिएको हो ।
नयाँ रंगशाला निर्माणका लागि ४० लाखका दरले रकम विनियोजित भएका जिल्लामा नवलपुर, गोरखा, स्याङजा, मुस्ताङ, मनाङ्ग, म्याग्दी, पर्बत र तनहुँ छन भने ३० लाखका दरले कर्भड हल निर्माणका लागि बिनियोजित भएका जिल्लामा बागलुङ, म्याग्दी र लमजुङ रहेका छन । आगामी वर्ष गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको पूर्वाधार बिकासका लागि पहिलो चरणमा ६ करोड ८० लाख रकम बिनियोजित भएको छ ।

यस भन्दा बाहेक तनहुँको भिमाद नगर पालिका र कास्कीको लेखनाथ स्थित भण्डारढिक रंगशालाको लागि २५/२५ लाख बजेट बिनियोजित भएको छ । त्यसै गरि लमजुङको गौलिटार रङ्गशाला राइनाश ६ का लागि ५० लाख, गेजावारी झाँक्री खेल मैदान चापाकोट नपा १०, स्याङजाका लागि २० लाख, बेनी स्थित रत्नेचौर बहुउद्धेश्यिय खेल मैदान निर्माण गर्न ५० लाख बजेट बिनियोजित भएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले बिनियोजित रकम बारे कुरा गर्दै कास्की जिल्ला बाहेक अन्य जिल्लामा खेलकुद पूर्वाधार बिकासका लागि माग गरिएकोमा प्राय सबै रकम बिनियोजित भएकोमा खुसी व्यक्त गरेका छन । ‘पहिला यस्तो भएकै थिएन, वार्षिक रुपमा रकम माग गर्दा आधा आउन मुस्किलपथ्र्यो तर अहिले सबै रकम बिनियोजित भएको छ’ अध्यक्ष श्रेष्ठले भने–‘हामी एकदमै उत्साहित छौं अब गण्डकी प्रदेशको खेलकुद पूर्वाधार बिकासले गति लिन्छ ।’
१३ औं सागका लागि पोखरामा आयोजना हुने विभिन्न ६ खेलहरु र नवौं राष्ट्रिय खेलकुदका लागि संघिय सरकारले रकम बिनियोजित गरेको हो । तर, ‘नेपालको काम कहिले जाला घाम’ जस्तै गरि काम सुरु गर्ने हो भने समयमा कुनै पनि पूर्वाधार बिकास हुन नसक्ने यर्थाथ रहेको अध्यक्ष श्रेष्ठ बताउँछन । अध्यक्ष श्रेष्ठ भन्छन–‘जुन किसिमले रकम बिनियोजित भएको छ त्यही उत्सहका साथ हामीले काम शुरु गर्नु पर्छ र समयमा नै सबै पूर्वाधार निर्माण सकेर खेलाडी उत्पादनमा ध्यान केन्द्रित गर्नुछ ।’
खेलकुद बिकास कार्यक्रम अन्तरगत खेलाडी उत्पादनका लागि महत्वपूर्ण मानिएका राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्ला स्तरियमा ४३ लाख र प्रदेश स्तरमा २२ लाख बजेट बिनियोजित भएको छ । ‘यो वर्ष स्विमिङ पुल र सुटिङका लागि समेत नयाँ पूर्वाधार बनाउन र त्यसका लागि डिपिआर तयार गर्न बजेट बिनियोजन गरिएको छ यो हाम्रो लागि खुसीको खबर हो’ अध्यक्ष श्रेष्ठले भने–‘हाम्रो प्रदेशमा पदकका लागि सम्भावना भएका खेलकुद गतिविधी बढाउन पूर्वाधारको आवश्यक्ता थियो ।’ पोखरा रंगशालामा लामो समय देखि थाती रहेको स्विमिङ पूल निर्माण छिटो सम्पन्न गर्ने हो भने यस क्षेत्रको खेलकुद बिकासमा ठूलो योगदान पुग्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
