नवौं राष्ट्रियका खेलकुदका लागि गण्डकी प्रदेशका ११ जिल्लामा हुने गरि प्रस्तावित, पूर्वाधारका लागि करिब ५१ करोडको प्रस्ताव

केशब पाठक,
पोखरा, २५ बैशाख । गण्डकी प्रदेशमा आगामी वर्ष २०७७ फागुन २० देखि २७ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले प्रदेशका लागि एघारै जिल्लामा हुने गरि ३५ खेल प्रस्तावित गरेको छ ।

११ जिल्लामा हुने ३५ खेलका लागि समितीले यूवा तथा खेलकूद मन्त्रालय संग पूर्वाधार बिकासका लागि ५१ करोड ३० लाख बजेट समेत माग गरेको अध्यक्ष सम्पन्न श्रेष्ठले पोखरा स्पोर्टस्लाई जानकारी दिएका छन ।

माग गरिएको ५१ करोड ३० लाख मध्ये सबै भन्दा ठूलो रकम पौडी पोखरीका लागि छ । समितीले पोखरा रंगशाला भित्र नयाँ पौडी पोखरी निर्माणका लागि ४० करोड माग गरेको हो । ‘पोखरा रंगशाला भित्र कुनै पनि मौसममा संचालन गर्न सकिने गरि पौडी पोखरी निर्माण गर्न यो रकम माग गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने–‘यो हिटिङ सिष्टेमको हुनेछ र कुनै पनि मौसममा संचालन हुन सक्नेछ ।’

पोखरा रंगशाला भित्र विभिन्न खेलकुदका पूर्वाधार भइरहँदा सबै भन्दा खट्किएको विषयनै पौडी पोखरी रहेको समितीका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । पोखराका अन्य निजी कम्पनीका पौडी पोखरीमा पनि लम्वाई नपुग्ने र प्रतियोगिताका लागि समेत उपयूक्त नरहेको उनले बताए । ‘हामीले निर्माण गर्न लागेको पौडी पोखरीको साईज ५० मिटर लम्वाई र २५ मिटर चौडाईको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ’ उनले भने ।

पोखराको मध्य भागमा अवस्थित पोखरा रंगशाला भित्र रंगशाला निर्माण गर्ने हो भने रंगशालाको आम्दानी समेत वढ्ने र रोजगारी समेत सिर्जना हुने समितीको लेखामा कार्यरत डिबी नेपालीले बताए । रंगशाला भित्र लामो समय देखि पौडी पोखरीका लागि जग्गा समेत छुट्याइएको भए पनि पौडी पोखरी नवन्दा यस बारे धेरैको चासो यसमा वढ्दै गएको उनको भनाई छ ।

कुन जिल्लामा कुन खेल ?
समितीले हालका लागि प्रस्ताव गरेका ३५ खेलहरु गण्डकी प्रदेशका ११ जिल्लामा हुने गरि विभाजन गरेको छ । प्रदेशको राजधानी पोखरामा २२ खेललाई प्रस्ताव गरिएको छ । पोखरमा निर्माण भइरहेका पूर्वाधार र भइसकेका आधारमा २२ खेलहरु प्रस्ताव गरिएको अध्यक्ष श्रेष्ठले बताए । तर यो प्रस्तावित मात्रै रहेको उनको भनाई छ । उनका अनुसार केही खेलहरु कुन जिल्लामा गर्ने बारे पूर्नविचार र थपघट हुन सक्नेछन ।

पोखरामा हुने खेलमा फुटबल, एथलेटिक्स, बक्सिङ, भलिबल, उशु, ह्याण्डबल, हक्की, सुटिङ, श्वाक्वास, जिम्न्याष्टिक, लनटेनिस, सफ्ट टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, गल्फ, शारिरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ र ट्रायथलन रहेका छन ।

त्यसै गरि नवलपुरमा खो खो कब्बडी र कुस्ती, गोर्खामा जुडो र सेपाक्ताक्रो, म्याग्दीमा फुल कन्ट्याक्ट, स्याङजामा आइटिएफ तेक्वान्दो, मनाङमा वुद्धीचाल, तनहुँमा बास्केटबल, लम्जुङमा व्याडमिन्टन, हिमालपारीको जिल्ला मुस्ताङमा टेबल टेनिस, पर्वतमा कराते र वागलुङमा तेक्वान्दो र भारोत्तोलन रहेका छन ।

प्रस्तवित गरिएका जिल्ला संगै खेलकुद पूर्वाधारका लागि समेत छुट्टा–छुट्टै रुपमा बजेट पनि माग गरिएको छ । माग गरिएका केही मध्ये पोखरा रंगशालाको श्वाक्स पूर्वाधार सम्पन्न गर्न १ करोड ५० लाख, व्याडमिन्टनका लागि २ करोड, सुटिङ स्पोट तयार गर्न ९० लाख, क्रिकेटका लागि ९५ लाख रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close