आईटीएफ एसिया १२ अन्डर टेनिस नेपालको विजयी सुरुआत

पोखरा स्पोर्ट्स । नेपालले आईटीएफ एसिया १२ अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा सोमबार विजयी सुरुआत गरेको छ । नेपालको ब्वाइज/गर्ल्स दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरेका हुन् ।
 
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गरेको छ । सिंगल्समा नेपालका सभ्यजंग कार्कीले रायन मोहम्मदलाई ६–० र ६–० को सोझो सेटमा पराजित  गरे । अर्को सिंगल्समा नेपालका आरित मल्लले जब्रिल जब्बरलाई सीधा सेटमा ६–० र ६–० ले हराए । डबल्समा नेपालका साहंश बस्नेत र आरितको जोडीले अहमद साहहान र रायनको जोडीलाई ६–२ र ६–० को सेटमा पाखा लगाए ।
 
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गर्ल्सको समूह ‘ए’ को लिगमा नेपालले पाकिस्तानलाई ३–० ले पन्छायो । पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले साहरिन उमरलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन् । सिंगल्समै नेपालकी सारा पन्तले साहनुर उमरलाई ६–० र ६–१ को सोझो सेटमा हराइन् । डबल्समा नाइरा घले र साराको जोडीले साहरिन र साहनुरको जोडीमाथि ६–३ र ६–० को जित दर्ता गरे ।
 
ब्वाइजको समूह ‘ए’ मा श्रीलंकाले भुटानलाई ३–० तथा गल्र्सको समूह ‘ए’ मा श्रीलंकाले माल्दिभ्स २–१ ले पराजित गरे ।
 
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, भुटान र श्रीलकाको सहभागिता रहेको छ । पुरुषमा १८ र महिलामा १५ खेलाडी सहभागी रहेको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।
 
यसै प्रतियोगिताबाट पहिलो र दोश्रो हुने ब्वाइज/गर्ल्स टिमले सन् २०२६ को सेप्टेम्वर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगितामा खेल्ने अवसर पाउने छन् । 
 
नेपालले दक्षिण एसियाली छनोट प्रतियोगिता आयोजना गरेको पाँचौंपटक हो । एक टिमले २ सिंगल्स र १ डबल्स खेल्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close