
पोखरा स्पोर्ट्स । भनिन्छ-जहाँ खेलकुदको दरिलो व्यवस्थापन र निर्णायकहरूको निष्पक्षता हुन्छ, त्यहाँ खेलाडीहरूको आत्मबल स्वतः बढ्छ । सोमबार पोखरामा सम्पन्न दोस्रो पोखरा ओपन एथलेटिक्स मिटले यही भनाइलाई व्यवहारमै उतारिदियो ।
केही मिनेटकै अन्तरालमा तीन–तीन नयाँ राष्ट्रिय कीर्तिमान स्थापित हुनु यस प्रतियोगिताको सबैभन्दा ठूलो उपलब्धि बन्यो । यसको सम्पूर्ण श्रेय आयोजक कास्की एथलेटिक्स संघको उत्कृष्ट व्यवस्थापनलाई जान्छ ।
लामो समयदेखि राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिताको पर्खाइमा रहेका खेलाडीहरूका लागि पोखरा रंगशालाको ट्रयाक एण्ड फिल्ड नयाँ इतिहास रच्ने मञ्च बन्यो । १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भएको रंगशालाले पनि यस्तै उपलब्धिको प्रतीक्षा गरिरहेको सन्देश दिन सफल भयो ।
३००० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित हुनु मात्र होइन, ३६ वर्ष पुरानो रेकर्ड तोडिनु नेपाली एथलेटिक्सका लागि ऐतिहासिक क्षण बन्यो । पुरुषतर्फ मुकेश बहादुर पाल र महिलातर्फ सन्तोषी श्रेष्ठले आफ्ना अग्रजहरूको कीर्तिमान तोड्दै नयाँ इतिहास रचे । उनीहरूको लक्ष्य केवल रेकर्ड तोड्नु मात्र नभई विगतका सीमालाई पार गर्नु थियो, जुन उनीहरूले सफलतापूर्वक पूरा गरे ।
उनीहरुसँगै अग्रजहरुले स्थापित गरेको समय सिमा भित्रको एक बटम लाइन थियो । त्यो बटमलाइन पार गर्नु उनीहरुको मुख्य उद्धेश्य बनेर स्थापित भयो–पोखरा रंगशालाको ट्रयाक । रेकर्ड तोडेसँगै उनीहरुले आफ्ना अग्रजहरुलाई सम्झिए । धन्यबाद दिए । उनीहरु प्रति नतमस्तक बने । यो उनीहरुको महानता थियो । राष्ट्रिय रेकर्ड आफूले राखेकोमा उनीहरु आफै त दङ्ग थिएनै । खेलकुद अनुशासनको मुल पाठ भित्र रहेर आफ्ना अग्रजहरुलाई देखाएको मायाँ र सदभाव पनि उत्तिकै महत्व थियो उनीहरुका लागि आजको दिन ।
सिमाले भने आफनै समय ब्रेक गरकी हुन् । उनले आफ्नो टिम नेपाल पुलिस क्लब र प्रशिक्षकलाई यसको श्रेय दिइन् । दशौं राष्ट्रिय खेलकुद समयमा नहुनुको पिडामा उनी मात्रै होइन सहभागि खेलाडीहरुमा देख्न पाइन्थ्यो । सिमाले एशियाड जानु अघी दशौं राष्ट्रिय खेलकुदमा अझै केही नयाँ गर्ने सोच रहेको खुलाइन् ।
पुरुषतर्फ सुदुर पश्चिमबाट सहभागि मुकेश बहादुर पालले ८ मिनेट १९.५७ सेकेण्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे भने महिलातर्फ नेपाल रन यूकेकी सन्तोषी श्रेष्ठले ९ मिनेट ४३.१९ सेकेण्डको समयसहित नयाँ कीर्तिमान बनाइन् ।
३००० मिटर दौडको रेकर्ड यस अघी ज्ञान बहादुर बोहराको नाममा ८ मिनेट २३.५९ सेकेण्ड रहेको थियो । उनले सन १९९९ मा भारतको दिल्लीमा बनाएका थिए । सन्तोषीले भने ३६ वर्ष राजकुमारी पाण्डेले सन १९९९ मा बेइजिङ एशियन गेम्समा १ मिनेट १०.९० सेकेण्डको समयसहित राष्ट्रिय रेकर्ड बनाएकी थिइन् ।
त्यस्तै महिला लङ जम्पमा आफ्नै नाममा रहेको रेकर्ड तोड्दै नेपाल पुलिस क्लबकी सिमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ कृतिमान कायम गरिन् । उनले एक वर्ष अघी भारतमा सम्पन्न एक प्रतियोगितामा ५.८३ मिटरका साथ रेकर्ड बनाएकी थिइन् ।
दोस्रो पोखरा ओपन एथलेटिक्स मिट केवल प्रतिस्पर्धा मात्र रहेन, यसले नेपाली एथलेटिक्सको भविष्यप्रति नयाँ आशा र ऊर्जा थप्ने ऐतिहासिक अध्यायका रूपमा आफूलाई स्थापित गर्यो ।