दोस्रो पोखरा राष्ट्रिय एथलेटिक्स मिट : मुकेश, सन्तोषी र सिमाको तीन नयाँ कीर्तिमानसहित भब्य रुपमा सम्पन्न

पोखरा स्पोर्ट्स । दोस्रो पोखरा ओपन राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ पोखरा रंगशालामा तीन नयाँ कृतिमानसहित सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम दिन विभिन्न ट्रयाक तथा फिल्ड इभेन्टमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै केही स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेका हुन् ।

सम्पन्न ३००० मिटर दौडमा पुरुष र महिला दुबैतर्फ नयाँ कृतिमान स्थापित भएका छन् । पुरुषतर्फ सुदुर पश्चिमबाट सहभागि मुकेश बहादुर पालले ८ मिनेट १९.५७ सेकेण्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे भने महिलातर्फ नेपाल रन यूकेकी सन्तोषी श्रेष्ठले ९ मिनेट ४३.१९ सेकेण्डको समयसहित नयाँ कीर्तिमान बनाइन् ।

३००० मिटर दौडको रेकर्ड यस अघी ज्ञान बहादुर बोहराको नाममा ८ मिनेट २३.५९ सेकेण्ड रहेको थियो । उनले सन १९९९ मा भारतको दिल्लीमा बनाएका थिए । सन्तोषीले भने ३६ वर्ष राजकुमारी पाण्डेले सन १९९९ मा बेइजिङ एशियन गेम्समा १ मिनेट १०.९० सेकेण्डको समयसहित राष्ट्रिय रेकर्ड बनाएकी थिइन् ।

त्यस्तै महिला लङ जम्पमा आफ्नै नाममा रहेको रेकर्ड तोड्दै नेपाल पुलिस क्लबकी सिमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ कृतिमान कायम गरिन् । उनले एक वर्ष अघी भारतमा सम्पन्न एक प्रतियोगितामा ५.८३ मिटरका साथ रेकर्ड बनाएकी थिइन् ।

सम्पन्न प्रतियोगितामा सुदुर पश्चिमबाट सहभागि भएका मुकेश बहादुर पाल र नेपाल पुलिस क्लबी सिमा चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद ५–५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा लालीगुँरास एकेडेमीका एथलेट द्वय प्रविन राना र भगवती खड्का राइजिङ प्लेयर बने । उनीहरुलाई एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक सुनिल राजवंशीले एक एक थान जुत्ता गिफ्ट ह्याम्परको रुपमा प्रदान गरेका थिए ।

सोमबार सम्पन्न २०० मिटर पुरुषतर्फ एपीएफका सुशिल केसीले २२.१० सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे । लालीगुराँस नेशनल एकेडेमीका प्रबिन राना २२.५३ सेकेन्डका साथ दोस्रो तथा पश्चिम पृतनाका गौरी सार्की २३.५६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे । २०० मिटर महिलातर्फ एनपीसीकी सिमा चौधरीले २६.३६ सेकेन्डमा स्वर्ण जितिन् । लालीगुराँस नेशनल एकेडेमीकी भगवती खड्का २७.१२ सेकेन्डसहित दोस्रो र गण्डकीकी अनुश्का अधिकारी २७.५३ सेकेन्डका साथ तेस्रो भइन् ।

८०० मिटर दौड प्रतियोगितामा पुरुषतर्फ गण्डकीका केशव बुढाले स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले १ मिनेट ५०.६३ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरे । सुदूरपश्चिमका कुशल प्रसाद जोशी १ः५५.२४ समयसहित दोस्रो तथा एपीएफका सन्दीप नेपाली १ः५७.८९ समयसहित तेस्रो स्थानमा रहे ।

महिलातर्फ एनपीसीकी सुमित्रा कुमारी चौधरीले २ः३२.३८ समयसहित पहिलो स्थान हासिल गरिन् । बागमतीकी अनिशा बि.के. २ः५७.८९ समयसहित दोस्रो हुँदा एपीएफकी आशा रावत ३ः३२.०६ समयसहित तेस्रो स्थानमा सीमित भइन् ।

यसैगरी, ८०० मिटर एनपीटीए विशेष प्रतियोगितामा ब्रिगेड अफ गोर्खाका युवराज कार्कीले २ः०२.५५ समयसहित पहिलो स्थान हासिल गरे । सोही टोलीका आकाश तामाङ २ः०२.९० समयसहित दोस्रो भए भने योरस ट्रेनिङ सेन्टरका प्रबिन आले २ः०३.२५ समयसहित तेस्रो स्थानमा रहे ।

त्यस्तै, पुरुष ३००० मिटर दौडमा मुकेश बहादुर पालले ८ मिनेट १९.५७ सेकेण्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । एपीएफका रुपेश कार्की ८ मिनेट ३६.११ सेकेण्डसहित दोस्रो तथा पुलिसका नागेश्वर आहिर ८ मिनेट ५९.५९ सेकेण्डसहित तेस्रो स्थानमा सीमित भए ।

महिला ३००० मिटरमा नेपाल रन यूकेकी सन्तोषी श्रेष्ठले ९ः४३.१९ समयसहित नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । कोशीकी पुष्पा लिम्बु ११ः२१.७९ सहित दोस्रो तथा पश्चिम पृतनाकी कुसुम थापा १३ः३४.७९ सहित तेस्रो स्थानमा रहिन् ।

फिल्ड इभेन्टतर्फ दोस्रो दिन पनि खेलाडीहरूको प्रदर्शन उल्लेखनीय रह्यो । लङ जम्प महिलातर्फ एनपीसीकी सीमा चौधरीले ५.९७ मिटरको जम्पसहित नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । लालीगुराँस नेशनल एकेडेमीकी अनिशा थारू ४.८७ मिटरका साथ दोस्रो र कास्कीकी सुजाता कुमाल ३.९४ मिटरका साथ तेस्रो स्थानमा रहिन् ।

ज्याभलिन थ्रो पुरुषतर्फ लुम्बिनीका रवी चौधरी ४४.९४ मिटरका साथ प्रथम भए । स्याङ्जाका आशिष रायमाझी ४३.९३ मिटरका साथ दोस्रो र पश्चिम पृतनाका सुजन बिके ३९.४६ मिटरका साथ तेस्रो स्थानमा रहे । त्यस्तै महिलातर्फ एनपीसीकी चन्द्रकला लामगाडे ३७.८६ मिटरका साथ प्रथम भइन् । सोही टिमकी बसन्ती चौधरी ३१.७९ मिटरका साथ दोस्रो र हिरन कुमारी चौधरी १६.४५ मिटरका साथ तेस्रो स्थानमा रहिन् ।

डिस्कस थ्रो पुरुषतर्फ एनपीसीका पुष्कल खड्काले २६.१० मिटरका साथ प्रथम स्थान हासिल गरे । स्याङ्जाका आशिष रायमाझी २६.०२ मिटरका साथ दोस्रो र पश्चिम पृतनाका सुजन बिके २४.१५ मिटरका साथ तेस्रो स्थानमा रहे । डिस्कस थ्रो महिलातर्फ एनपीसीकी चन्द्रकला लामगाडे ३४.८२ मिटरका साथ प्रथम भइन् । हिरन कुमारी ३१.४१ मिटरका साथ दोस्रो र बसन्ती कुमार चौधरी २६.४७ मिटरका साथ तेस्रो स्थानमा रहिन् ।

पुरुष लङ जम्पतर्फ एपीएफका सुशील केसीले ६.५० मिटर जम्प गर्दै स्वर्ण जिते । पश्चिम पृतनाका रमेश शाही ६.१६ मिटरका साथ दोस्रो तथा कोशीका प्रजाए तामाङ ६.०७ मिटरका साथ तेस्रो स्थानमा रहे ।

महिला लङ जम्पमा भने एनपीसीकी सिमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । लालीगुराँस नेशनल एकेडेमीकी अनिशा थारु ४.८७ मिटरका साथ दोस्रो तथा कास्कीकी सुजाता कुमाल ३.९४ मिटरका साथ तेस्रो स्थानमा रहिन् ।

४×१०० मिटर मिक्स्ड रिलेमा लालीगुराँस नेशनल एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको छ । प्रबिन राना, सौरा बिष्टा, भगवती खड्का र अनिशा थारु सम्मिलित टोलीले ०ः४७.८५ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हात पारेको हो ।

गण्डकी टोलीकी अनुस्का अधिकारी, नारायणी भण्डारी, प्रज्वल खड्का र सुदीप भण्डारीको टोली ०ः४८.८० सेकेन्डसहित दोस्रो स्थानमा रह्यो । त्यस्तै, अनिशा बीके, अमृता आचार्य, गौरी सार्की र रमेश शाही सम्मिलित पश्चिम पृतनाको टोलीले ०ः५१.१० सेकेन्डसहित तेस्रो स्थान हासिल गर्‍यो ।

बिजेता खेलाडीहरुलाई पदक तथा नगद वितरण गर्दै प्रतिनिधि सभाका सदस्य पौडेलले सरकारलाई खेलकुद क्षेत्रमा लगानी बढाउन आफूले पहल गर्ने बताए । उनले भने–“खेलकुद मुलुकको दिगो विकासका लागि महत्वपूर्ण छ । खेलकुदमा लगानी बढाउन पर्छ । म भोलीबाटै लगानी बढाउन र पूर्वाद्धार विकासका लागि सरकारसँग पहल गर्ने छु ।”

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई क्रमश नगद रु ५, ३ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

पोखरामा सम्पन्न यू२० राष्ट्रिय एथलेटिक्स र दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा ४ सय ६६ जना खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताका संयोजक सिद्धान्त अधिकारीले बताए । उनले भने–“हामीले तीन दिनमा ठूलो प्रतियोगिता भब्यताका साथ विवाद रहित रुपमा सम्पन्न गरेका छौं । यो हाम्रो व्यवस्थापनसँगै निर्णायकहरुको मेहनतकै कारणले भएको हो । म सबै प्रति आभार व्यक्त गर्न चाहन्छु ।”

समग्रमा प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरूले प्रतिस्पर्धात्मक प्रदर्शनसँगै नयाँ कीर्तिमानले प्रतियोगितालाई थप ऐतिहासिक बनाएको आयोजक कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गज बहादुर गुरूङले बताए ।
यो पनी पढनुस (नतिजासहितको समाचार)

https://pokharasports.com/2026/04/12/65419/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close