
पोखरा स्पोर्ट्स । पोखरामा आइतबार सम्पन्न चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
ट्रयाकतर्फ गण्डकीकी अनुष्काले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्दै सर्वाधिक पदक हात पारिन् । पुरुषतर्फ अभिनाशले हाईजम्पमा नयाँ कीर्तिमान कायम गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । दुवैले जनही नगद रु ५–५ हजार पुरस्कार प्राप्त गरे ।
समग्र टिमतर्फ गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत र १ कांस्य पदकका साथ दोस्रो तथा सुदूरपश्चिम प्रदेश ४ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले उक्त जानकारी दिएका हुन् ।
लङ जम्प पुरुषतर्फ सुदूरपश्चिमका विक्रम नाथले ६.५२ मिटर जम्प गर्दै स्वर्ण जिते । कोशीका आदित्य विश्वकर्मा ६.३९ मिटरका साथ रजत तथा बागमतीका विशाल गुरुङ ६.२२ मिटर जम्प गर्दै कांश्य पदक जिते ।
महिला लङ जम्पमा बागमतीकी अनिशा थारुले ५.०७ मिटर जम्प गर्दै स्वर्ण जितिन् । लुम्बिनीकी गरिमा चौधरी ४.६४ मिटरका साथ रजत र गण्डकीकी आकृति चौधरी ४.४२ मिटरका साथ कांश्य पदक जितिन् ।
यू–२० राष्ट्रि एथलेटिक्समा पहिलो पटक समावेश ४×४०० मिटर मिक्स्ड रिलेमा बागमती प्रदेशले स्वर्ण पदक जित्यो । तिलक मगर, हस्त सुनार, अनिशा थारु र भगवती खड्काको टोलीले ३ मिनेट ५१. ०६ सेकेन्डमा दूरी पूरा गर्यो । सुदूरपश्चिमले ३ मिनेट ५५.४३ सेकेन्डका साथ रजत तथा गण्डकीले ४.०१ दशमलव ५० सेकेन्डमा कांश्य पदक हासिल ग¥यो ।
३००० मिटर महिलातर्फ दौडमा सुदूरपश्चिमकी देवकी धामीले ११ मिनेट १८.५१ सेकेन्डमा स्वर्ण जितिन । कोशीकी मन्दिरा महतरा ११ मिनेट ५२.५० सेकेन्डका साथ रजत र कर्णालीकी अन्तिमा बुढा ११ मिनेट ५३.७९ सेकेन्डमा दौड पुरा गरी कांश्य पदक जितेकी छन् ।
३००० मिटर पुरुषतर्फ गण्डकीका बादल कार्कीले ९ मिनेट ०३.८४ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जिते । कर्णालीका युवराज बुढा ९ मिनेट ०४.३१ सेकेन्डका साथ रजत र रमेश बुढा ९ मिनेट ०५.७६ सेकेन्डमा दौड पुरा गरी कांश्य पदक जिते ।
८०० मिटर पुरुषतर्फ बागमतीका हस्त सुनारले २ मिनेट २० सेकेन्डमा दौड पुरा गरी स्वर्ण जिते । लुम्बिनीका अनुप थारु २ मिनेट ०४ दशमलव २६ सेकेन्डका साथ रजत र गण्डकीका सुजन नेपाली २ मिनेट ०५.६७ सेकेन्डका साथ कांश्य पदक जिते ।
महिला ८०० मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी २ मिनेट ३१.८९ सेकेन्डमा पहिलो हुँदै स्वर्ण पदक जितिन् । बागमतीकी भगवती खड्का २ मिनेट ३२.१९ सेकेन्डका साथ रजत तथा सुदूरपश्चिमकी सङ्गीता बिक २ मिनेट ३४.९२ सेकेन्डमा कांश्य पदक जितिन् ।
२०० मिटर पुरुषतर्फ गण्डकीका सुदीप भण्डारीले २२.०९ सेकेन्डमा दौड पुरा गरी स्वर्ण पदक जिते । कोशीका शुभम दर्जी २२.७३ सेकेन्डका साथ रजत र लुम्बिनीका भगवानदास लोहार २३.१० सेकेन्डमा दौड पुरा गर्दै काश्य पदक जिते ।
महिला २०० मिटर दौडमा गण्डकीकी अनुष्का अधिकारी २७.१४ सेकेन्डमा पहिलो हुँदै स्वर्ण पदक आफ्नो नाममा लेखाइन् । लुम्बिनीकी गरिमा चौधरी २७.८२ सेकेन्डमा रजत पदक हात पार्दा लुम्बिनीकै आरुषी भट्टराई २८.२५ सेकेन्डमा तेस्रो हुदै काश्य पदकमा चित्त बुझाइन् ।
यसैबीच, प्रतियोगिता अन्तर्गत आइतबारबाट पोखरामा दोस्रो संस्करणको पोखरा एथलेटिक्स मिट सुरु भएको छ । यू–२० प्रतियोगितामा सातै प्रदेशका १५४ खेलाडीले २४ इभेन्टमा सहभागिता जनाएका थिए भने पोखरा एथलेटिक्स मिटतर्फ ३० इभेन्टमा ३२२ खेलाडी सहभागी भएको संयोजक सिद्धान्त अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
