सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव सुरु, सदस्य सचिब शर्माले गरे उद्घाटन

पोखरा स्पोर्ट्स । सूर्य तारा क्लब पोखरा, गण्डकीको आयोजनामा ‘तेस्रो सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव २०८२’ आजबाट पोखरा-२९, लेखनाथस्थित भण्डारढिक खेलमैदानमा सुरु भएको छ । चैत्र ३० गतेसम्म सञ्चालन हुने महोत्सवको एक विशेष समारोहका बीच प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य-सचिव श्रीधर शर्माले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै सदस्य-सचिव शर्माले खेलकुद क्षेत्रको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए । उनले भने, “नेपाली खेलकुदमा राज्यको लगानी अत्यन्त न्यून छ । चाहे त्यो संघीय, प्रदेश वा स्थानीय सरकारले गरे पनि कुल बजेटको कम्तीमा तीन प्रतिशत खेलकुदमा नपुग्दासम्म यो क्षेत्र अगाडि बढ्न सक्दैन ।”

प्रदेश खेलकुद परिषद्ले खेलाडी हितका लागि खेलकुद पदक, बीमा, खेलाडी सम्मानजस्ता महत्वपूर्ण कार्यक्रम अघि बढाइरहेको जानकारी दिंदै सदस्य-सचिव शर्माले खेलकुद आयोजना गर्ने संस्थाहरुले आर्थिक कठिनाइ भोग्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे । खेलाडी सुविधा वृद्धि तथा खेलकुदलाई स्वरोजगारसँग जोड्न सबै सरकारी निकायको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो । “खेलकुद आफैंमा संस्कृति हो । यो पवित्र क्षेत्र हो । यसमा सहभागिता, साथ र सहयोगले महत्वपूर्ण अर्थ राख्छ,” उनले उल्लेख गरे ।

यसै क्रममा पोखरा महानगरपालिका-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले खेलकुद महोत्सवले युवा पुस्तामा अनुशासन र सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास व्यक्त गर्दै आफ्नो वडा खेलकुद विकासका लागि सधैं अग्रसर रहने प्रतिवद्धता जनाए ।

सूर्य तारा क्लबका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा क्लबकी सचिव सरस्वती श्रेष्ठले पनि आफ्ना धारणा राखेका थिए ।

उद्घाटनका दिन नै सम्पन्न सेभेन-ए-साइड फुटबलतर्फ आयोजक सूर्य तारा क्लबलाई पोखरा–२९ टिमले १–० गोलअन्तरले पराजित गरेको छ । सेभेन-ए-साइडमा १८ टिम सहभागी छन् । नकआउट आधारमा सञ्चालन हुने प्रतियोगितामा विजेताले २ लाख २ हजार २२२ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महोत्सवअन्तर्गत राष्ट्रिय खुल्ला महिला डोरी तान, खुल्ला ‘स्लो’ महिला स्कुटर रेस तथा जातीय संघ-संस्थाको झाँकी प्रदर्शनी प्रमुख आकर्षण रहनेछन् । महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछ ।

खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ ।

आयोजक समितिका सल्लाहकार टिकाराम पगेनीका अनुसार खेल, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले स्थानीय प्रतिभा पहिचान, सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close