
पोखरा स्पोर्ट्स । आईटीएफ एशिया १२-अण्डर टिम साउथ एशिया क्वालिफाइङ प्रतियोगिता–२०२६ नेपालमा आयोजना हुने भएको छ । नेपाल टेनिस संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता यसै महिनाको अप्रिल १३ देखि १७ सम्म सातदोबाटो टेनिस कम्प्लेक्समा सञ्चालन हुने जानकारी दिएको हो ।
नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूलका अनुसार प्रतियोगिताका लागि कोर्ट सुधार, प्रविधिक तयारी, खेलाडी सुविधा तथा सुरक्षा व्यवस्थासहितका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका छन् । उनले नेपालमा जुनियर टेनिसको स्तर उकास्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
महासचिव निरेशबहादुर श्रेष्ठका अनुसार नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भूटानका १२ वर्षमुनिका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन् । क्षेत्रीय विजेता टिमले एशिया स्तरको मुख्य प्रतियोगितामा प्रवेश पाउने भएकाले यो छनोट चरण विशेष महत्त्वको रहेको श्रेष्ठले बताए ।
प्रतियोगिता सहज र सफल बनाउन आवश्यक समन्वय, व्यवस्थापन तथा तयारीलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको संघका सचिव अजय बिष्टले जानकारी दिए ।
