
पोखरा स्पोर्ट्स । कास्कीका खेलाडीहरूलाई यातायात साधनमा भाडामा सहुलियत उपलब्ध गराउन जिल्ला खेलकुद विकास समिति कास्कीले पृथ्वी राजमार्ग बस सञ्चालक समितिलाई औपचारिक प्रस्ताव पेस गरेको छ ।
जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरुङले समितिका अध्यक्ष एन कुमार साईलाई प्रस्ताव बुझाउँदै कास्कीका खेलाडी तथा खेलकुदकर्मीहरूले नेपालभरिबाट पोखरा आउँदा-जाँदा यातायात भाडामा छूट पाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रस्ताव पेश गरेको जनाएका हुन् ।
समितिका कार्यालय प्रमुख डिबी नेपालीका अनुसार कास्की अन्तर्गतका ६० भन्दा बढी खेलमा संलग्न करिब ७ सयभन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, खेल संघका पदाधिकारी तथा समितिका पदाधिकारीहरूलाई सहुलियत उपलब्ध गराउने प्रस्ताव गरिएको हो ।
प्रस्ताव ग्रहण गर्दै पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष साईले सकरात्मक प्रतिक्रिया व्यक्त गर्दै जिल्ला खेलकुद कास्कीसँग सहकार्य गर्दै अघि बढ्न आफूहरू तयार रहेको बताए । उनले भने, “उहाँहरूको प्रस्ताव सकारात्मक छ । हामी सहकार्यका लागि तयार छौं र यसलाई चाँडै नै कार्यान्वयन गर्ने पहल गर्छौं ।”
यता जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष गुरुङले देशकै ठूलो यातायात सेवासँग सहकार्य गर्न लागिएको यो कदम खेल क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, “यो एक सकारात्मक सुरुवात हो । केही दिनअघि मात्र मनिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य सेवामा सहुलियतका लागि सम्झौता गरिसकिएको छ । अब यातायात क्षेत्रसँगको सहकार्य पनि शीघ्र हुने छ ।”
पृथ्बीराज मार्ग बस सञ्चालक समिति देशकै ठूलो र पुरानो यातायात कम्पनी समेत् हो । शहर देखी दुर दराजमा सञ्चालन हुने यस यातायात क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी छ ।