सूर्य तारा खेलकुद महोत्सवको भोली उद्घाटन, सेभेन-ए-साइडमा १८ टिमको प्रतिस्पर्धा

पोखरा स्पोर्ट्स । ‘‘तेस्रो सूर्य तारा खेलकुद महोत्सव-२०८२’ भोली (शुक्रबार) बाट सुरू हुँदैछ । सूर्य तारा क्लबको आयोजनामा चार दिनसम्म सञ्चालन हुने खेलकुद तथा सांस्कृतिक महोत्सवअन्तर्गत आदर्श खेल मैदान, लेखनाथमा सेभेन–ए–साइडको उद्घाटन खेलबाट महोत्सवको औपचारिक सुरुवात हुने क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिएका हुन् ।

उद्घाटन खेल आयोजक सूर्य तारा क्लब र पोखरा महानगरपालिका-२९ बीच शुक्रबार दिउँसो ११ बजे हुने भएको छ । महोत्सवको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले गर्ने तय भएको अध्यक्ष पुनले बताए ।

महोत्सवअन्तर्गत प्रमुख आकर्षणको रुपमा रहेको सेभेन ए साइडतर्फ १८ टिमले प्रतिस्पर्धा गर्नेछन् । नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

महोत्सवअन्तर्गत राष्ट्रिय खुल्ला महिला डोरी तान प्रतियोगिता, खुल्ला ‘स्लो’ महिला स्कुटर रेस तथा जातीय संघ–संस्थाको झाँकी प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहनेछन् ।

राष्ट्रिय खुल्ला महिला डोरी तान प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खुल्ला ‘स्लो’ महिला स्कुटर प्रतिस्पर्धामा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

आयोजकका अनुसार खेल, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुने महोत्सवले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने आयोजकको विश्वास छ । महोत्सव चैत्र ३० गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close