
पोखरा स्पोर्ट्स । दोस्रो पोखरा ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपका सबै तयारी पूरा भएको कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ । संघले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
नेपाल एथलेटिक्स संघको समन्वयमा यही चैत्र २८ गतेदेखि ३० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ४६६ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताका संयोजक सिद्धान्त अधिकारीका अनुसार पोखरा ओपनतर्फ महिला र पुरुष गरी ३१२ खेलाडी प्रतिस्पर्धामा उत्रने छन् भने यू–२० राष्ट्रिय च्याम्पियनसिपतर्फ १५४ खेलाडी सहभागी हुनेछन् ।
दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा सातै प्रदेश र नेपालका विभागीय क्लबहरूको सहभागिता रहनेछ । त्यस्तै, यू–२० च्याम्पियनसिपमा सातै प्रदेशबाट छनोट भएर आएका खेलाडीहरूले आफ्नो कौशल प्रस्तुत गर्नेछन् । राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता एशियन च्याम्पियनसिप र हङकङमा आयोजना हुने एक अर्को प्रतियोगिताका लागि छनौट खेल समेत रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पोखरा ओपनतर्फ ३० इभेन्ट तथा यू–२० च्याम्पियनसिपतर्फ २४ इभेन्ट समावेश गरिएका छन् । पोखरा ओपनका हरेक इभेन्टमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ । त्यस्तै, यू–२० तर्फ विजेताले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।
करिब ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा नेपाल एथलेटिक्स संघ, रेडबुल इनर्जी पार्टनर, योर्स ट्रेनिङ र ग्याट्स ट्रेनिङ सेन्टर तथा कफी डे हिमालय एशोसियट स्पोनसरका रूपमा रहेका छन् । सफल दुध न्यूट्रिसियन पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स इन्सुरेन्स पार्टनर, ग्रिन डेभलपमेन्ट बैंक बैंकिङ पार्टनर तथा सोल्टी पिउने पानी हाइड्रेशन पार्टनरका रूपमा रहेका छन् ।
यसै बीच, प्रतियोगितालाई सफल बनाउन सबैको सहयोगका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले आग्रह गर्दै प्रतियोगिता सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
