
पोखरा स्पोर्ट्स । नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एशियाली ह्याण्डबल महासंघले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो ।
महासंघका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एशियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एशियन युथ एण्ड स्कुल ह्याण्डबल, एशियाली ह्याण्डबल महासंघको एक महत्वपूर्ण अङ्गको रूपमा मानिन्छ ।
तिम्सिना नेपाली खेलकुद क्षेत्रका अनुभवी तथा सक्षम व्यक्तित्व हुन् । उनले यसअघि नेपाल ओलम्पिक कमिटिमा उपमहासचिव र राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । साथै १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उनी ‘सेफ अफ द मिसन’ को भूमिकामा पनि रहेका थिए ।
उनको यो मनोनयनले नेपाली ह्यान्डबल मात्र होइन, समग्र खेलकुद क्षेत्रकै प्रतिष्ठा वृद्धि भएको मानिएको छ । आगामी दिनमा एशियाली स्तरमा युवा तथा विद्यालय ह्यान्डबलको नीति निर्माण र विकासमा तिम्सिनाको सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ ।