
पोखरा स्पोर्ट्स/केशव पाठक । एथलेटिक्स खेललाई विश्वभर ‘मदर अफ स्पोर्ट्स’ अर्थात् सबै खेलहरूको आधार मानिन्छ । ओलम्पिकदेखि एशियाली तथा विश्वस्तरीय प्रतियोगितासम्म एथलेटिक्सले सधैं प्राथमिकता पाउँदै आएको छ । तर, विडम्बना भन्नुपर्छ-नेपालमा भने यो खेल अझै पनि अपेक्षित विकास र प्राथमिकताबाट टाढा छ । आवश्यक संरचना, लगानी र दीर्घकालीन योजना अभावका कारण एथलेटिक्सको अवस्था कमजोर देखिन्छ ।
यही अवस्थाबीच कास्की जिल्ला एथलेटिक्स संघले पोखरामा एकैसाथ दुई ठूला प्रतियोगिता आयोजना गर्दै एथलेटिक्सलाई नयाँ ऊर्जा दिने प्रयास गरेको छ । संघको आयोजनामा यही चैत्र २८ गतेदेखि ३० गतेसम्म ‘यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप’ र ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट’ सञ्चालन हुने भएका छन् । यी दुवै प्रतियोगिता प्रतिस्पर्धात्मक हिसाबले मात्र होइन, सहभागी संख्याका हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिएका छन् ।
६ सय खेलाडी पोखरामा–ट्रयाक एण्ड फिल्डमा भविष्य कोर्ने तयारी
दुबै प्रतियोगितामा गरी करिब ६ सय खेलाडी पोखरा आइपुग्ने अनुमान गरिएको छ । नेपालका विभिन्न प्रदेश, जिल्लाबाट आउने खेलाडीले ५ दिनसम्म पोखरालाई एथलेटिक्समय बनाउनेछन् । १०० मिटर स्प्रिन्टदेखि ५ हजार मिटर दौडसम्म, हाईजम्प, लङजम्प, डिस्कस थ्रो, जाभेलिन लगायत करिब सबै ट्रयाक एण्ड फिल्डका प्रतिस्पर्धा समेटिने छन् ।
विशेषगरी यू-२० च्याम्पियनसिपले युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने अवसर दिनेछ । यही उमेरमा योग्य खेलाडी पहिचान गरी दीर्घकालीन प्रशिक्षण दिएमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधार तयार हुन सक्छ। यही कारणले धेरै देशहरूमा यू–२० च्याम्पियनसिप अत्यन्त महत्त्वपूर्ण मानिन्छ । नेपालमा भने चार वर्षपछि बल्ल यो प्रतियोगिता हुन लागेको तथ्य आफैंमा खेलकुद नीतिको कमजोरी समेत् हो ।
४० लाखभन्दा बढी खर्च-तर राज्यको सहयोग न्यून
प्रतियोगिताको बजेट ३८ देखि ४० लाख रुपैयाँभन्दा बढी रहेको आयोजकले बताएको छ । ६ सयभन्दा बढी खेलाडी, प्रशिक्षक, टिम अफिसियल, निर्णायक, स्वयंसेवक, रहने–बस्ने, खाने–पिउने, ट्रयाक व्यवस्थापन, उपकरण, चिकित्सा सेवा यी सबै मिलेर खर्च स्वतः भारी बन्ने नै हो । तर यति ठूलो प्रतियोगिता आयोजनामा राज्यको सहयोग अत्यन्त न्यून छ । संघ, आयोजक समिति र स्थानीय खेलकुदप्रेमीहरूको निजी पहलमै धेरैजसो खर्च धानिएको बताइन्छ । नेपालमा खेलकुद ‘उत्पादन’ गर्ने संघहरूलाई राज्यले बेवास्ता गरेर चुनावमुखी, पहुँचमुखी कार्यक्रममा बजेट वितरण गर्ने प्रचलनका कारण एथलेटिक्सजस्ता खेलहरू अझै हात थापेर चल्नु पर्ने पिडा निती बनाउनेहरु त्यो दिमागले सँधै घोच्नु पर्ने हो ।
प्रायोजन जुटाउन चुनौती
कास्की जिल्ला एथलेटिक्स संघका पदाधिकारीहरूका अनुसार प्रायोजन जुटाउन निकै कठिनाइ भएको छ । निजी क्षेत्र खेलकुदमा लगानी गर्न इच्छुक नहुनु, ब्रान्डिङ प्रभाव नदिइनु, र राज्यको स्पष्ट एथलेटिक्स विकास नीति नहुँदा व्यवस्थित प्रायोजन संरचना बनेको छैन । पोखराका केही व्यवसायी र खेलप्रेमीको सहयोग बिना प्रतियोगिता सम्भव नै नहुने आयोजकको भनाइ छ । तर यसे बीच केही प्रायोजकहरु यो प्रतियोगिताका लागि अगाडी आएका छन् । उनीहरुको सहयोग मानिरहँदा केही नहुनु भन्दा यो नै सही भनेर हात थाप्नु बाहेक अरु केही हुन सक्दैन ।
नेपालमा जहाँ खेलकुदको वास्तविक उत्पादन हुन्छ, खेलकुदका आधारभूत संरचनामा काम गर्ने संघहरूमा प्रायः स्रोतको अभाव छ । तर अर्को तर्फ स्थानीय क्लब र संघ–संस्थाहरुले आयोजना गर्ने चैते कार्यक्रमहरुमा राज्यको ढुकुटीबाटै बजेट दिने गरी वार्षि बजेट विनियोजन भएका छन् ।
बास्तविक खेलकुद संघहरु जहाँ खेलाडी उत्पादन हुन्छन् र राष्ट्रको गौरव बढ्छ त्यहाँ बजेट नहुनु तर राजिनितिक पहुँचका आधार बजेट विनियोजन गरी राज्यको ढुकुटी माथी रजाइ चल्नुले नेपाली खेलकुद क्षेत्र प्रभावित बनेको छ । यस्तो प्रवृत्तिले वास्तविक खेलाडी उत्पादनकर्ताहरू ओझेलमा पर्न बाध्य छन् । जसका कारण प्रतिभावान खेलाडीहरुको पलायनलाई टुलु–टुलु हेरेर बस्नु बाहेक अरु केही गर्न सकिने स्थिती बन्न सकेको छैन ।
एथलेटिक्समय पोखराबाट आशा
यद्यपि चुनौती थुप्रै भए पनि, पोखरामा हुने यी दुई प्रतियोगिताले नेपाली एथलेटिक्समा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ । कास्की जिल्लाले यतिबेला धेरै युवा खेलाडी उत्पादन गरिरहेको छ । यू–२० च्याम्पियनसिपबाट फुट्ने नयाँ प्रतिभा, ओपन मिटबाट उदाउने सम्भावना र पोखराको खेलकुद वातावरणले देशभर सन्देश दिनेछ कि–एथलेटिक्सलाई प्राथमिकता दिएर मात्र नेपालको खेलकुद नयाँ अध्यायमा प्रवेश गर्न सक्छ ।
अन्त्यमा, ३८–४० लाख खर्च गरेर, ६ सय खेलाडी भेला पारेर, कठिनाइका बीच पनि एथलेटिक्सलाई जिवन्त राख्ने कास्की जिल्ला एथलेटिक्स संघको प्रयास प्रशंसनीय छ। राज्यले एथलेटिक्सजस्ता आधारभूत खेलकूद संरचना र प्रतियोगितालाई प्राथमिकतामा राखे मात्र नेपालको खेलकुद अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी बन्न सक्छ ।
पोखरा तीन दिनसम्म एथलेटिक्सको राजधानी बन्नुअघि आयोजक, खेलाडी, निर्णायक र स्थानीय समुदाय सबैको एउटै अपेक्षा छ–एथलेटिक्स फेरि उठोस । एथलेटिक्सले नै देशको खेलकुदको भविष्य कोर्न सक्नेछ । आगामी दिनमा एथलेटिक्ससहित अन्य खेलहरूको समग्र विकासका लागि नीति, लगानी र दीर्घकालीन योजना आवश्यक छ । अन्यथा, ‘मदर अफ स्पोर्ट्स’ भनिने एथलेटिक्स नेपालमा केवल औपचारिकतामा सीमित हुने खतरा रहिरहनेछ ।
