चौथो ए.बी.सी. एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता यहि चैत्र २५ बाट

पोखरा स्पोर्ट्स । अम्वरसिंह ब्वाइज (ए.बी.सी.) क्लब पोखरा–१० को आयोजनामा चौथो एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता पोखरा रंगशालामा हुने भएको छ ।

यहि चैत्र २५ देखि २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, पोखरा, चितवन र रुपन्देहीबाट गरी १२ वटा भेट्रान्स टिम सहभागी हुने क्लबका सचिब बिजय घिमिरेले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् ।

सहभागी टोलीमध्ये पोखराबाट ३ टोली ए.बी.सी. भेट्रान्स, बगर भाइखलक भेट्रान्स र लेकसाइड भेट्रान्स प्रतिस्पर्धामा उत्रनेछन् । नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिता चैत २५ गतेदेखि सुरु हुने छ भने चैत २७ गते फाइनल खेल हुनेछ ।

तेस्रो सस्करणको सो प्रतियोगिता हेटौंडा भेट्रान्सले उपाधि जितेको थियो भने रुपन्देही भेट्रान्स उपविजेता रहेको थियो ।  प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपनिजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा रंगशालामा हुने यस ४५ वर्ष माथी उमेरको भेट्रान्स फुटबल प्रतियोगिताले अनुभवी खेलाडीहरूलाई पुनः प्रतिस्पर्धाको वातावरण प्रदान गर्दै खेलकुदको विकासमा योगदान गर्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close