जिल्ला खेलकुद कास्की र मणिपाल बीच स्वास्थ्य सेवा सम्झौता

पोखरा स्पोर्ट्स । जिल्ला खेलकुद विकास समिति कास्की र नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराबीच खेलाडी तथा खेलकर्मी लक्षित स्वास्थ्य सेवा सुविधाका लागि सहकार्यसम्बन्धी आइतबार महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ । दुवै संस्थाका अधिकृत प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर गरिएको यो सहमतिपत्रले कास्की जिल्लाका खेलाडीलाई नियमित स्वास्थ्य परीक्षणदेखि उपचार सेवा सम्म सहुलियत प्राप्त हुने सुनिश्चित हुने भएको हो ।

सो सम्झौता पत्रमा जिल्ला खेलकुदको तर्फबाट अध्यक्ष मिलन गुरूङ र मनिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेको जिल्ला खेलकुद कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिएका छन् । उनले भनेका छन्–“यो खेलाडी, प्रशिक्षक र कर्मचारी सबैका लागि महत्वपूर्ण रहेको छ । मनिपालले उपलव्ध गराउने सेवाले खेलकुद क्षेत्रका लागि अझै प्रभावकारी हुने विश्वास लिएका छौं ।”

सम्झौताअनुसार मणिपाल शिक्षण अस्पतालले जिल्लास्तरका खेलाडी, प्रशिक्षक, कर्मचारी तथा सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा छुट प्रदान गर्नेछ । यसले खेलाडीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने र उनीहरूको खेलकुद क्षमतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको जिल्ला खेलकुदका अध्यक्ष गुरूङले बताएका छन् ।

अध्यक्ष गुरुङले खेलाडीकेन्द्रित स्वास्थ्य सेवा सहयोगले कास्की जिल्लाको खेल विकासलाई थप गति मिल्ने बताउँदै भने–“मनिपाल अस्पतालसँगको सहकार्यले खेलकर्मीको उपचार तथा स्वास्थ्य परीक्षणमा पहुँच सहज र सहज हुनेछ ।”

सम्झौता हस्ताक्षर गर्दै प्रमुख कार्यकारी अधिकृत ओडुविलले खेल क्षेत्रमा सक्रिय खेलाडीहरूको स्वास्थ्य सुरक्षाका लागि मणिपाल अस्पताल निरन्तर सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे । उनले खेलाडीको स्वास्थ्य अवस्था नियमित रूपमा जाँचिनु खेल प्रदर्शनमा समेत सकरात्मक प्रभाव पर्ने उल्लेख गरे ।

सम्झौतामा उल्लेखित प्रमुख छुटहरू यसप्रकार छन्

  • दर्ता शुल्कमा ५० प्रतिशत छुट
  • सामान्य बेड (General Bed) मा २५ प्रतिशत छुट
  • CBC, ESR, Urine R/E, FBS, LFT, ECG, FLP, X-ray, Uric Acid, Thyroid Function Test, Blood Grouping, USG Abdomen & Pelvis लगायतका नियमित स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छुट
  • न्यूरोसर्जरी तथा सुपर स्पेशालिटी सेवाबाहेक अन्य शल्यक्रिया सेवामा १० प्रतिशत छुट
  • Plain CT तथा Plain MRI सेवामा १० प्रतिशत छुट
  • डाक्टर परामर्श शुल्क पूर्ण रूपमा निःशुल्क

कास्की जिल्लाका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको स्वास्थ्यमा सजगता बढाउन गरिएको यो सहकार्य स्थानीय खेल क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ । नियमित स्वास्थ्य परीक्षण, खेल चोट व्यवस्थापन तथा आकस्मिक उपचार सेवा सहज बनाउँन यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close