एन्फा निलम्बन उन्मुख, फिफा र एएफसीले दिए सात दिनको समय

पोखरा स्पोर्ट्स  । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारण सभा रोकिए पछि फिफाबाट निलम्बनको सम्भावना बढेको छ । 

फिफा र एएफसीले एन्फालाई शनिबार पत्र पठाउदै ७ दिन भित्र निर्वाचन गरेर नयाँ कार्यसमिति चयन नगरेमा फिफा काउन्सिलमा निलम्बनको प्रस्ताव पेश गर्ने चेतावनी दिएका छन् ।

फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषदले एन्फालाई गरेको तीन महिनाको निलम्बनको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप गरेको देखिएको र यो तेस्रो पक्षको अनुचित प्रभावको उदाहरण भएको उल्लेख गरिएको छ । 

फिफा र एएफसीले राखेपको निर्णय तत्काल फिर्ता नभए र सात दिनभित्र एन्फालाई पुरानै अवस्थामा फर्किएर चुनाव प्रक्रिया अघि बढाउन दिने सुनिश्चितता नदिइए कडा कदम चाल्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा एन्फामाथि निलम्बनको सिफारिस गरिने जनाइएको छ ।

एन्फा निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, विकास कोषमा पहुँच लगायतका सम्पूर्ण अधिकार गुम्नेछन् भने अन्य देशका फुटबल संघहरूलाई एन्फासँग कुनै पनि खेलकुद सम्बन्ध राख्न प्रतिबन्ध लगाइनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close