
पोखरा स्पोर्ट्स । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्ट्स अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी ‘पिपुल्स च्वाइस अवार्ड’का लागि अनलाइन भोटिङ व्यवस्थापनमा आईएमई खल्तीले प्राविधिक सहकार्य प्रदान गर्नेछ ।
शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता कार्यक्रमका क्रममा बस्नेतले पोखरामा पाँच वर्षदेखि सेवा विस्तार गरिरहेको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्ट्स अवार्डसँग सहकार्य गर्न पाएकोमा खुशी लागेको बताए । अवार्डको औपचारिक सम्झौताअघि नै प्रवद्र्धन सुरु गरिसकिएको उल्लेख गर्दै उनले पोखरा तथा आसपासका दुई दर्जनभन्दा बढी कार्यक्रमसँग सफलतापूर्वक सहकार्य गरिसकेको जानकारी दिए। साथै, अवार्डको गरिमा अझ उचो बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, मञ्चका कार्यवाहक अध्यक्ष पौडेलले आठ विधामा आयोजना हुने दशौं संस्करणमा स्थगित ‘पिपुल्स च्वाइस अवार्ड’ पुनः सञ्चालनमा आउन लागेको बताए । पाँच उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धामा अनलाइन भोटिङमार्फत विजेता चयन गरिनेछ ।
२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा स्पोर्ट्स अवार्डको दसौं संस्करणअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताले टीभीएस एनटर्क स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । उक्त पुरस्कारको प्रायोजन पोखरास्थित गुरुङ गहना घर प्रालिले गरेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।
दशौं पोखरा स्पोर्ट्स अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने आयोजना रहेको छ । अवार्ड सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरसहित कास्कीका पाँचै पालिकाहरूको विशेष सहयोग रहनेछ । विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ ।
