
पोखरा स्पोर्ट्स । टेबलटेनिसका श्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङले २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०८२ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड शुक्रबार जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा दुवैलाई अवार्डसहित जनही १ लाख नगदबाट पुरस्कृत गरिएको हो ।
प्रतिभाशाली खेलाडीको अवार्ड पुरुषमा तेक्वान्दोका अभिषेक बराल र महिलामा बक्सिङकी स्वस्तिका तिरुवाले हात पारे । उनीहरुलाई ट्रफीसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरियो ।
गजराज जोशी आदर्श खेल व्यक्तित्व पुरस्कार भलिबल प्रशिक्षक कुमार राईले प्राप्त गर्दा फोटो पत्रकार उदिप्तसिंह क्षेत्री एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । दुवैले जनही ३५ हजार नगद पुरस्कार पाए । वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्ड एथलेटिक्सकी प्रभा आङडेम्बेले जितिन् । प्रभाले १५ हजार नगद पुरस्कार पाइन् ।
२६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी–२०८२
पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युतकृष्ण खरेल (साइक्लिङ), सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलिप यादव (भारोत्तोलन), रविन चेपाङ (र्याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) रहेका छन् । यिनै २६ खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा उपस्थित गराएर पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताए । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अवार्ड आयोजना गरिएको हो ।
