
पोखरा स्पोर्टस । नेपाल पिकलबल संघले अन्तर्राष्ट्रिय पिकलबल महासंघको ५० औं संगठित सदस्यको रुपमा मान्यता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय पिकलबल महासंघले आफ्नो ५० औं सदस्यको रुपमा नेपाल पिकलबल संघलाई मान्यता प्रदान गरको नेपाल पिकल बल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराएका छन् । महासंघले नेपालले महासंघको सदस्यता प्राप्त गर्न सवै प्रकृया पुरा गरेकोले नेपाललाई संगठित सदस्यको रुपमा मान्यता प्रदान गरेको प्रमाण पत्रमा जनाएको छ ।
टेनिस, ब्याडमिन्टन र पिङ्गपङ्गको संयुक्त रुपको खेल नेपालका करिव २ बर्ष अगाडी स्थापना भएको हो । १९६५मा अमेरिकाबाट सुरु भएको यो खेल सस्तो र सवै उमेर समूहका लागि सहज भएका कारण उत्तर अमेरिकी राज्यमा निकैनै पपुलर रहेको छ । ब्याडमिन्टन कोर्टमा, टेनिस नेट टेनिस जस्तै खेलिने खेल टेबलटेनिसको ब्याट र बल जस्तै ब्याट र बलबाट खेलिने खेल हो पिकलबल । एकल र युगल दुवै प्रतिस्पर्धा हुनेछ भने ११, १५ र २१ स्कोरमा हार जितको निर्णय हुनेछ ।
नेपालमा सन् २०१९ सेप्टेम्बरमा ग्यालेक्सी स्कुलमा ईन्डो नेपाल पिकलबल च्याम्पियनसिप आयोजना गरिएको थियो । यस्तै त्यसको लगतै भारतको देहरादुनमा ईन्डो नेपाल पिकल बल च्याम्पियनसिपको समेत आयोजना गरिसकेको छ ।
“म अत्यन्तै हर्षित छु”–संरक्षक गुरुङ
यसै विच नेपालमा पिकलबल खेल भित्राउने मध्येका एक नविन गुरुङले नेपाललाई महासंघले दिएको मान्यता प्रती आफू निकै हर्षित भएको बताएका छन । स्याङजा कोल्मा घर भइ हाल यूके निवासी गुरुङले नेपाललले मान्यता पाउनु हर्षको क्षण रहेको बताउँदै भने–“हामी नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएका छौं ।” नेपाल पिकलबलको संरक्षक समेत रहेका गुरुङले पिकलबलको अन्तर्राष्ट्रियस्तरको ‘बायन कप’ आयोजनागर्न महासंघले स्विकृती समेत दिएको तर कोभिड १९ का कारण अहिलेको अवस्थामा केही भन्न सक्ने अवस्था नरहेको गुरुङले बताए ।नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके ५० भन्दा वढी देशका ३ हजार भन्दा वढी खेलाडी नेपाल आउन सक्ने बताउँदै नेपाल सर्पोट गु्रपका सदस्य समेत रहेका गुरुङले पिकलबल खेल मार्फत नेपालको पर्यटनको विकासका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताए । उनले भने–“यो संघको एकल प्रयासले मात्रै सम्भव छैन यसका लागि नेपाल सरकारको समेत सहयोग आवश्यक रहन्छ ।”
सहारा यूकेका संरक्षक समेत रहेका गुरुङले नेपालमा पिकलबल खेलको भविष्य उज्वल रहेको पोखरा स्पोर्टस संगको कुराकानीमा बताउँदै अव चाँडै नै पोखरा लगायत नेपालका मुख्य शहरहरुमा विद्यालयहरुमा पिकलबलको प्रशिक्षणहरु शुरुवात गर्न सके खेलको विकास संगै खेलाडीको उत्पादनमा समेत सहयाृग पुग्ने बताए । पिकलबल खेलको विकास विश्वमा तिव्ररुपमा अघि बढिरहेकोले महासंघमा आवद्ध हुने संख्या समेत वढिरहेकोले पनि अव यो खेल चाँडै नै ओलम्पिकमा समेत समावेश हुने उनले बताए ।

