
पोखरा स्पोर्ट्स । आइपिएल टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुका तीव्र गतिका बलर नुवान तुषाराले खेल्न अनुमति नदिएको भन्दै अदालत पुगेका छन् ।
तुषाराले श्रीलंकाको जिल्ला अदालतमा निवेदन दायर गर्दै आईपीएल २०२६ मा खेल्नका लागि आवश्यक अनुमति पत्र दिन श्रीलंका क्रिकेट बोर्डलाई आदेश दिन माग गरेका हुन् । मुद्दाको प्रारम्भिक सुनुवाइ भइसकेको छ भने अर्को पेशी अप्रिल ९ का लागि तोकिएको छ ।
बोर्डले तुषारा आवश्यक शारीरिक मापदण्ड पूरा गर्न नसकेको भन्दै अनुमति दिन अस्वीकार गरेको थियो । तर तुषाराले आफू यही अवस्थामै अघिल्ला सिजनहरूमा खेलेको र त्यसबेला अनुमति पाएको दाबी गरेका छन् ।
उनका अनुसार बोर्डसँगको सम्झौता ३१ मार्च २०२६ मा समाप्त भइसकेको छ र त्यसलाई नवीकरण नगर्ने तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने जानकारी पहिल्यै गराइसकेको बताएका छन् ।
तुषाराले राष्ट्रिय टोलीमा नछानिने अवस्था हुँदा पनि शारीरिक अवस्थाकै आधारमा रोक लगाउनु अन्यायपूर्ण भएको जिकिर गरेका छन् । उनले अनुमति नपाए आईपीएल टोलीले आफूलाई प्रतिस्थापन गर्न सक्ने र त्यसले करियर तथा आम्दानीमा असर पर्ने बताएका छन् । तुषाराले अदालतसँग अन्तरिम र स्थायी आदेश माग गर्दै विदेशी लिगमा खेल्न पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
