
पोखरा स्पोर्ट्स । जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ ।
दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन् ।
एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म हुनेछ । नेपालले बाउल्डर र लिड स्पर्धामा खेल्ने छ । एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नु पर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष माडेनले जनाएका छन् ।
त्यस्तै विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुनेछ । यसमा बाउल्डर विधा मात्र समावेश छ । दुई प्रतियोगिताको बीचको अवधिमा खेलाडी प्रशिक्षणमा सहभागी हुने क्लाम्बिङ संघका सचिव सुजित कँडेलले जानकारी दिए ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
