पोखरामा आमा समूह दौड : खेलकुदमार्फत समाज रुपान्तरणको सन्देश

केशव पाठक/ पोखरा स्पोर्ट्स । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएकी पोखरेली महिलाहरू शनिबार फरक भूमिकामा देखिए –उनीहरू पोखरा रंगशालाको ट्रयाकमा दौडिरहेका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न मासिक दौड कार्यक्रममा पोखरा महानगरका विभिन्न आमा समूहहरू सहभागी भएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक समेत रहेको मञ्चले रजत महोत्सव अवसरमा पहिलोपटक आमाहरुलाई रंगशालासम्म ल्याएर दौड गराएको हो । महिलाहरूका लागि ३ किलोमिटर दौड आयोजना गरिएको थियो । “हरेक वर्ष सडकछेउबाट धावकहरूलाई हौसला दिने आमा, दिदी, बहिनीहरूलाई यसपालि आफैं मैदानमा दौडाउने प्रयत्न गरेका हौं,” रेस डाइरेक्टर तेज बहादुर गुरुङले भने, “समाजको आधार महिला भएकाले उनीहरूलाई खेलकुदमा सक्रिय गराउन सके मात्र सही रुपले खेल विकास सम्भव ।”

दौडमा पाँच सयभन्दा बढी महिलाहरूले सहभागिता जनाए । कोही सारी चप्पलमा, कोही कुर्ता–सुरुवालमा त कोही खेल पोशाकमा दौडिए । पहिलोपटक रंगशालाको रबर म्याट ट्रयाकमा पाइला टेकेका उनीहरूका अनुहारमा उत्साह र उमंग झल्किन्थ्यो । छातीमा चेष्ट नम्बर, खुट्टामा चिप्स, हातमा पोष्टर र ब्यानरसहित महिलाहरूको उपस्थितिले वातावरण उल्लासमय बनायो । दौड पछि तीज गीतमा नाचेर कार्यक्रमको रौनक अझ बढाए ।

कार्यक्रमको उद्घाटनका लागि उपस्थित प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस्तो प्रयास प्रशंसनीय रहेको बताइन्। “महिलालाई खेल मैदानमा ल्याउनु आफैमा साहसी र सकारात्मक कदम हो । उनीहरूको सक्रियता समाज रुपान्तरणको आधार बन्न सक्छ,” उनले भनिन् ।

७५ वर्षीया राधादेवी पराजुली, वडा नं १ की बासिन्दा तथा आमा समूहकी पूर्व अध्यक्ष हुन् । दौडमा सहभागी भइन्। “दौडन्छु भन्ने चाहना थियो, तर पाएकी थिइन,” उनले थपिन–“अव मलाई दौडन केहीले रोक्न सक्दैन । म अब संधै दौडनेछु । आज दौडन पाउँदा एकदमै खुसी छु,” उनले भनिन् । यस्तै, ६४ वर्षीया रत्ना पौडेलले पनि दौडमा सहभागी भई सन्तुष्टि व्यक्त गरिन् । “आज म पहिलो पटक दौडे । अब नाती-नातिनीलाई पनि खेलमा लाग्न र दौडन प्रेरणा दिन्छु,” उनले उत्साहित हुँदै भनिन् ।

कार्यक्रम सफल बनाउन मञ्चको सामाजिक संघ संस्था उपसमितिका संयोजक सम्मर बहादुर श्रेष्ठ, सहसंयोजक उत्तम जोशी, सचिव महेश पौडेल, कार्यसमिति सदस्यहरू दिनेश श्रेष्ठ, ओम गुरुङ, विश्व तण्डुकार लगायतको उल्लेखनीय योगदान रहेको थियो । सचिव पौडेलले भने, “वडा–वडामा १२ दिनसम्म कार्यक्रम गरी आमाहरूलाई रंगशालासम्म ल्याउनु चुनौतीपूर्ण भए पनि प्रयास सफल भयो ।”

यस विशेष आयोजनाले महिलाहरूको खेलकुदमा सहभागिता मात्र होइन, समाजमा खेलकुदको महत्वसम्बन्धी चेतना पनि फैलाएको छ । कार्यक्रमले देखायो– खेलकुद सबैका लागि हो, उमेर र पोशाकको सिमानाले हैन ।

को कसले जिते आमा समुह दौड?
पहिलो पटक आयोजना भएको आमा समुह दौडमा हरि कुमारी श्रेष्ठ पहिलो भइन् भने विष्णु कुमारी ठकुरी दोस्रो । त्यस्तै रिया गुरूङ तेस्रो हुँदा सूर्यकाला थापा चौथो र राधिका थापाले पाँचौ स्थान प्राप्त गरिन् । दौडमा झगदेबी बुढा छैटौं, मधु देवकोटा सातौं, सिता तामाङ आठौं, सरिता जिशी नवौं र विमला केसी दशौं स्थान प्राप्त गरे ।

५ किमि छात्र.छात्रा दौडमा बिजेताहरु
नियमित हुँदै आएको मासिक दौड अन्तर्गत ५ किमि छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७.३१ मिनेटमा दौड पुरा गरी पहिलो हुँदा बराह माविका शुस्मन ढुङ्गानाले १७.४१ मिनेटको समय लिंदै दोस्रो तथा माछापुच्छ्रे माविका राजिव बास्तोलाले १८.३३ मिनेटको समय खर्चिदै तेस्रो स्थान प्राप्त गरे । दौडमा माछापुच्छ्रे माविका प्रवेश परियार चौथो र हिमालय कलेजका दिपेन्द्र नेपालीले पाचौ स्थान प्राप्त गरे ।

त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो भइन । मेघराज माविकी उनले आफ्नो दौड २१.०२ मिनेटमा पुरा गरिन् भने दोस्रो भएकी गौरीशंकर मावीकी कविता मगरले २१.३८ सेकेण्डमा दौड पुरा गरेकी थिइन् । त्यस्तै महेन्द्र माविकी सोनिया नेपालीले २१.५२ मिनेटको समयमा तेस्रो स्थान प्राप्त गरिन् । दौडमा सरस्वती टिका स्कुलकी शाकिरा परियार चौथो र कोपिला चिल्ड्रेनकी आशा केसी पाँचौ स्थान प्राप्त गर्न सफल रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close