
पोखरा स्पोर्टस । कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श युवा क्लबले सेमीफाइनलबाट आफ्नो यात्रा टुङ्गाएको छ । आफ्नै खेल मैदानमा सेमीफाइनल म्याचमा कास्की फुटबल संघ संग ४–३ गोलले पराजित भए संगै उपाधि यात्रा रोकिएको हो ।
लेखनाथ रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछी अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थप अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभए पछी खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा कास्कीले आयोजक आदर्शलाई ४–३ ले पराजित गरेको हो ।
कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे भने कास्कीका खेलाडी सरोज तितुङको प्रहारलाई आदर्शका गोल रक्षक दिप कार्किले उत्कृष्ट बचाउ गरे ।
आयोजक क्लबकोतर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे । कास्की बिरुद्ध दिपक कार्की र दिपेश आलेमगरले हानेको बललाई कास्कीका गोल रक्षक आयुष्मान गुरुङले गोल हुनबाट रोके । यो सँगै आयोजक आदर्श युवा क्लब उपाधि होडबाट बाहिरिएको छ ।
बुधबारको खेलमा म्यान अफ द म्याच कास्कीका आयुष्मान गुरुङ बने । उनले नगद पाँच हजारसहित मेडल हात पारेका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेल विहिवार गोर्खा फुटवल क्लब र सशस्त्र प्रहरी बल गण्डकीका बिच हुने खेल संयोजक ओम प्रकाश गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म जारी प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ ।
