जिल्ला खेलकुद कास्कीद्वारा युकेबाट आएका पाहुनाहरुको स्वागत

पोखरा स्पोर्ट्स । जिल्ला खेलकुद विकास समिति कास्कीले शनिबार एक कार्यक्रमको आयोजना गरी कर्मथलो युकेबाट मातृभुमी पोखरा आएका विभिन्न संस्थामा आवद्ध पदाधिकारी तथा समाजसेवीहरुलाई स्वागत गरेको छ । जिल्ला खेलकुदको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक अधिकारी क्षेत्री र कार्यालय प्रमुख डिबी नेपालीले स्वागत गरेका हुन् ।

सो अवसरमा बोल्दै तमु धिं एशोसियन युकेका उपाध्यक्ष एवं अग्रज समाजसेवी कमल गुरूङले जिल्ला खेलकुदले आफूहरुलाई दिएको यो सम्मान महत्वपूर्ण रहेको बताए । विगतमा राष्ट्रिय खेलाडीको रुपमा प्रतिस्पर्धा गर्दाको क्षणहरुलाई स्मरण गर्दै उनले भने–“हामी पोखरेलीहरु विश्वको जुन कुनामा बसे पनि हाम्रो लागि पोखरा जन्म थलो प्रिय लाग्छ ।”

उपाध्यक्ष गुरूङले जिल्ला खेलकुदले पोखरा रंगशाला लगायत जिल्लाको खेलकुद विकासका लागि गरेको पहल नेपाली खेलकुद विकासका लागि उत्तिकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा आफ्नो सहकार्य रहने प्रतिवद्धता जनाए ।

त्यस्तै सहारा युकेका मानार्थ सल्लाहकार महेश गुरूङले जिल्ला खेलकुदले पोखरा रंगशालाको संरक्षण र विकासका लागि गरेको पहल प्रशंसनिय रहेको बताउँदै पोखरा फुटबल रंगशालामा अत्यावश्यक फ्लड लाइट, स्विमिङपुल जस्ता अत्यावश्यक पूर्वाधारहरु निर्माणका लागि अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा सहारा युकेका अध्यक्ष सारदा गुरूङले पोखराको खेलकुद विकासका लागि सहारा युकेको सहकार्य निरन्तर रहने जनाउँदै आगामी दिन पूर्वाद्धार निर्माणमा आफ्नो पहल रहने प्रतिवद्धता जनाए ।

सो अवसरमा सहारा युकेका संस्थापक सल्लाहकार लालकाजी गुरूङ, सल्लाहकार कृष्ण गुरूङ, तमु धिं युकेका इकाई अध्यक्ष धमेन्द्र (नारायण) गुरूङ, पोखरेली मञ्च युकेका पूर्व उपाध्यक्ष डिएसपी बाचस्पती रेग्मी, अग्रज फोटो पत्रकार मिलन तमुलगायतले आ–आफ्ना भनाई राख्दै पोखरा रंगशाला पूर्वाद्धार संरक्षणमा जिल्ला खेलकुद कास्कीले गरेको पहलकदमीको स्वागत गरेका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङले पोखरा रंगशाला संरक्षणका लागि तमु धिं एशोसियसन युके, सहारा युकेलगायतको महत्वपूर्ण अभिभावकत्व प्राप्त गरेको बताउँदै जिल्ला खेलकुद केही वर्षमा नै फ्ल्ड लाइट र स्विमिङ निर्माणको कार्य अघि बढाउने बताए ।

सो कार्यक्रममा जिल्ला खेलकुदका उपाध्यक्ष तिलक बहादुर अधिकारी क्षेत्री, कार्यालय प्रमुख डिबी नेपालीले समेत आफ्ना भनाई राखेका थिए । स्मरणिय के छ भने २०६१ सालमा निर्माण सम्पन्न भएको पोखरा रंगशाला पर्खाल निर्माणमा तमु धिं युकेको महत्वपूर्ण भूमिका रहेको छ । यो सँगै तमु धिं युकेले पोखरा रंगशाला गेट नं ६ समेत आफ्नै खर्चमा निर्माण गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close