१४ वर्षपछि फाइनलमा जाउलाखेल, आत्मघाती गोलले आभा एफसी बाहिरियो

पोखरा स्पोर्ट्स/ तस्बिरः सुदर्शन रञ्जित । आहा! रारा पोखरा गोल्डकप अन्तर्गत पोखरामा जारी २५औँ संस्करणमा जाउलाखेल युथ क्लब उपाधिनजिक पुगेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जाउलाखेलले फाइनल यात्रा तय गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ५२औँ मिनेटमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो । धरबेन्दर कुँवरले लेफ्ट विङबाट डि–एरिया नजिकैबाट दिएको क्रस रोक्ने क्रममा आभा एफसीका डिफेन्डर कुशान गानिजानोभले जोगाउने क्रममा छातीमा बल लाग्दै जाली चुमेपछि जाउलाखेलले अग्रता लिएको थियो । सोही गोल नै खेलको एक मात्र गोल सावित भयो ।

६५औँ मिनेटमा मामुरोतोभलाई फाउल गरेपछि जाउलाखेलका युवराज ढकालले सिधै रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। संख्यात्मक रुपमा कमजोर बने पनि जाउलाखेलले अन्तिमसम्म अग्रता जोगाउँदै फाइनल स्थान सुरक्षित गर्‍यो ।

पराजित टोली आभा एफसीका जोकोचन राखीमोभ प्लेयर अफ दि म्याच घोषित भए ।

अब शनिबार हुने उपाधि भिडन्तमा आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लब आमनेसामने हुनेछन्। जाउलाखेल १४ वर्षपछि गोल्डकपको फाइनलमा पुगेको हो भने सहारा क्लब ९ वर्षपछि आफ्नै मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close