
पोखरा स्पोर्टस । ‘प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’अन्तर्गत सेमिफाइनलको समिकरण पूरा भएको छ ।
बगर भाइखलकको आयोजनामा पोखराको ऐतिहासिक टुँडीखेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो । शुक्रबार सम्पन्न प्रतियोगिताबाट पोखराको दीप युनाइटेड भेट्रान क्लब, फ्रिडम फाइटर ए, काठमाण्डौ, ठमेल ११ भेट्रान र थापा गाउँ भेट्रान काठमाण्डौले सेमिफाइनल यात्रा तय गरेका हुन् ।
आज सम्पन्न खेलमा ठमेल भेट्रान काठमाण्डौले बुटवल भेट्रानलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । ठमेलको जीतमा सागर थापाको गोल नै निर्णायक बन्यो । खेलमा तासी छिरिङ म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, पोखराको स्थानीय दीप युनाइटेडले पाहुना टोली चितवन भेट्रानलाई १–० गोलले पराजित गर्दै अघिल्लो चरणमा पुग्यो । खेलमा म्यान अफ दि म्याच बनेका अर्जुन कुमार गुरुङले गरेको एक गोल नै जित्न पर्याप्त रह्यो ।
त्यसैगरी, थापा गाउँ भेट्रान्स काठमाण्डौ र हेटौंडा भेट्रान्सबीचको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा पुग्यो । थापा गाउँले हेटौंडाको टोली विरुद्ध ३–१ ले पेनाल्टी सुट आउटमा खेल आफ्नो पक्षमा पार्यो । उक्त खेलमा थापा गाउँका शशी रिमाल म्यान अफ दि म्याच बने ।
आजको अन्तिम खेलमा पोखराको स्थानीय गार्डेन एफसी भेट्रान फ्रिडम फाइटर ए, काठमाण्डौँसँग २–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । खेलमा म्यान अफ दि म्याच राजकुमार घिसिङ र विकर्ण श्रेष्ठले १–१ गोल गरे ।
‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगिता माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०–२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।
