जावलाखेल युथ क्लब सेमिफाइनलमा, चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जित

पोखरा स्पोर्ट्स । जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकपअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

यो जित सँगै आहा! रारा पोखरा गोल्डकपमा आइतबार सम्पन्न खेलमा जावलाखेल प्रतियोगिताको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।

शनिबार धरानमा सम्पन्न बुढा सुब्बा गोल्डकपमा उपविजेता बन्दै शनिबार पोखरामा जावलाखेलसँग भिडेको चर्च व्वाइज निराश हुदै फर्किने भएको छ । आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउन पोखरा आएको टोलीलाई तयार हुन समय खर्चिनु परेको थियो । जसका कारण निर्धारित समय भन्दा १५ मिनेट ढिलो गरी खेल सञ्चालन भएको थियो । हल्का वर्षा समेत भएको पोखरामा चर्च ब्वाइजका लागि आइतबारको खेल सोच अनुरुप हुन सकेन । 

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको जावलाखेलले पहिलो गोल धर्मेन्द्र कुँवरमार्फत गरेको थियो । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले डाइभ गर्दै बल समात्ने क्रममा हातबाट फुत्काएपछि धर्मेन्द्रले कुनै गल्ती नगरी अवसरको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो गोल जमैकन खेलाडी निकोलस ह्यामिल्टनले गरे । उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोलरक्षक दीप कार्कीलाई बीट गर्दै सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो गोल भएको दुई मिनेटमै, खेलको ९०औँ मिनेटमा सुजन गुरुङले तेस्रो गोल थपे । उनले डी–एरियाको नजिकैबाट प्रहार गरेको बल सिधै जालीमा पुग्दै जावलाखेललाई ३–० को सहज जित दिलायो ।

उत्कृष्ट प्रदर्शन गरेका निकोलस ह्यामिल्टन प्लेयर अफ द म्याच घोषित भए । उनले नगद रु १० हजारसहित ट्रफी प्राप्त गरे ।

यस जितसँगै जावलाखेल युथ क्लब उच्च मनोबलका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोली सोमबारको तेस्रो क्वार्टरफायनल खेल मनाङ मर्स्याङदी क्लब र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडका बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close