
पोखरा स्पोर्ट्स । टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच हुने महत्वपूर्ण खेलअघि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने तयारी गरेको खबर सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो निर्णय पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोधमा लिइएको बताइएको छ । गत वर्ष एशिया कपका क्रममा पनि भारतीय टोलीले पाकिस्तानका खेलाडीहरूसँग हात नमिलाएको स्मरण गरिएको छ ।
कोलम्बोमा साँझ ७:१५ बजे सुरु हुने खेलमा वर्षाले अवरोध पुर्याउन सक्ने अनुमान गरिएको छ । मौसम विभागले करिब ५० प्रतिशत वर्षाको सम्भावना देखाए पनि खेलको समयमा वर्षा हुने सम्भावना झन्डै १० प्रतिशत मात्र रहने बताइएको छ । यदि खेल हुन सकेन भने दुवै टोलीले एक-एक अङ्क पाउनेछन् र अतिरिक्त दिनको व्यवस्था गरिएको छैन ।
भारत र पाकिस्तान पछिल्लो पटक एशिया कपको फाइनलमा आमनेसामने भएका थिए, जहाँ भारतले ५ विकेटले जित हात पारेको थियो । भारतले सन् २००७ र २०२४ मा टी-२० विश्वकप जितिसकेको छ भने पाकिस्तान सन् २००९ को विजेता रहँदै २००७ र २०२२ मा उपविजेता बनेको थियो ।
यसपटक भारतीय ब्याटरहरूका लागि पाकिस्तानी बलर उस्मान तारिकको गति परिवर्तन, कोण र ढिलो बल ठूलो चुनौती बन्ने अनुमान गरिएको छ । शनिबार रातिदेखि नै कोलम्बोमा वर्षा सुरु भएकाले मैदान ढाकेर सुरक्षित राखिएको छ । आइतबार पनि विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएकाले खेल प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
