
केशब पाठक/पोखरा,
५४ वर्षिय दिपक गुरुङ सुष्त अनि मिठो बोल्छन । आफ्नो भन्दा अरुको सहयोगका लागि तयार रहने दिपक गुरुङको सामाजिक यात्राको थालनी गरेको पनि २१ वर्ष वितेछ । सहारा क्लब पोखराको २०५५ सालमा स्थापना गरे बाट सुरु भएको सामाजिक अभियानको यात्रा अझै पनि जारी रहेको दिपक बताउँछन ।
सन २००७ मा हङकङ छिरेका दिपकले सन २०१२ मा हङकङमा सहारा क्लब स्थापना हुँदा अध्यक्ष बने । सहारा क्लब पोखराको उपाध्यक्ष भइसकेर अनुभब संगालेका दिपकलाई कुनै अप्ठ्यारो विषय थिएन । थियो त केबल सहारा क्लब पोखराले सुरु गरेको एकेडेमीको अभियानलाई विदेशमा बसेर सफिलिभुत पार्नु ।
करिब १७ वर्ष देखि तेश्रो कार्यकालको सहारा हङकङको अध्यक्षता सम्हालिरहेका दिपकको जिवन यात्रा उस्तै छ । श्रीमती भद्रा गुरुङ र दुई सन्तानका पिता दिपक समय पाउने वित्तिकै सामाजिक अभियानका लागि समय खर्चेको पत्तै पाउन्नन । पुख्र्यौली थलो पर्वत हुँदै पोखरा बसाई सरेका दिपक अहिले पनि सामाजिक अभियानमा खटिन पाउँदा निकै खुसीको अनुभुती हुने बताउँछन ।

सहारा क्लब पोखराले स्थापना गरेको सहारा एकेडेमीको भवन निर्माण देखि अन्य कार्यको लागि हङकङ बाट ८० लाख नेपाली रुपैयाँ पठाई सकेका छन । सहारा क्लब पोखरालाई जिबनको अभिन्न मार्गदर्शक मान्ने दिपकले जिवन जिउनुको साचो अर्थ सहारा बाट सुरु भएको भन्न हिच्किदैनन । ‘संधै अप्ठ्यारो र कठिन परिस्थितीमा रहेकाहरुलाई सहयोग गरेर नै समय विताइयो अहिले पनि त्यो अभियान जारी छ’ दिपक भन्छन ।
कालिकोट राजकोटमा निर्माण भइरहेको सामुदयिक अस्पताल निर्माण गर्नका लागि सहारा हङकङको अभियानमा संधै अग्रभागमा बसेर नेतृत्वदायी भूमिका खेलिरहे । २०७२ सालको नेपालको भुकम्प पिडितहरुको सहयोग होस वा भुकम्प बाट भत्किएका विद्यालयको पुर्ननिर्माणमा सहारा यूके, सहारा हङकङ र सहारा क्लब संग मिलेर उल्लेखनिय कार्य गर्न हङकङमा बसेर सबैलाई उत्प्रेरणा जगाइ रहे । कालिकोटको राजकोट अस्पतालका लागि मात्रै ३० लाख संकलन गर्न सफल रहेको उनले बताए ।
कुनै बेला अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका सदस्य समेत रहेका दिपक सहारा एकेडेमीलाई अझै पनि व्यवस्थित गर्दै फुटबलका कर्णधारहरु उत्पादनका लागि मुख्य थलो बनोस भन्ने चाहन्छन । ‘आफ्नो लागि त जसले पनि गर्छ, अरुको लागि गर्नु नै मुख्य कुरा हो’ उनी थप्छन–‘अग्रजहरुले सामाजिक अभियानमा हिड्न सिकाएको मार्गमा संधै हिड्न सकुँ त्योनै ठूलो हो ।’ सहारा एकेडेमीमा कठिन परिस्थितीमा रहेका बालकहरुलाई सबैको सहयोगले उनीहरुलाई भविष्यको बाटो देखाउन अभियानमा लागिरहने उनले बताए ।
तस्विरः सुदर्शन रंजित
