
पोखरा स्पोर्ट्स । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोर्ट्सप्लेक्स को आयोजनामा खेलकुदको शहर पोखरामा आज (शुक्रबार) देखि पाँचौँ संस्करणको खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ ।
पोखरा–१०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोर्ट्सप्लेक्समा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जापानी प्रशिक्षक टिस्यू–यामामोतोले गरे । सो अवसरमा उनले नेपालको ब्याडमिन्टन खेलको दीगो विकासका लागि ग्रासरुट तहबाट नियमित प्रशिक्षण र प्रतियोगिता आवश्यक रहेको उल्लेख गर्दै फिट नेपालको अवधारणाअनुसार दीर्घकालीन लगानी गर्नुपर्नेमा जोड दिए ।
फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङका अनुसार प्रतियोगितामा छात्र तथा छात्रातर्फका चार मुख्य इभेन्टअन्तर्गत प्रतिस्पर्धा सुरु भएको हो । यू–११, यू–१३, यू–१७ र यू–१९ उमेर समूहमा करिब २ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
विद्यालय तहदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने प्रतिभाको पहिचान गर्ने, खेलकुद विकासलाई टेवा पु¥याउने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यसहित प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत यू–११ र यू–१३ तर्फका विजेतालाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यू–१७ र यू–१९ समूहमा प्रथम हुने खेलाडीले मेडल, ट्रफी, प्रमाणपत्रसहित जनही ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिनेछ ।
फिट नेपाल र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ । प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले विद्यालयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रातर्फ अघि बढ्न यस प्रतियोगिताले महत्वपूर्ण प्रेरणा दिने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा अन्डर–१५ राष्ट्रिय च्याम्पियन निभा राई, अन्डर–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, रिहाना शेरचन, सदिप राई, सुदेश राज कोटि, सुप्रीम पन्त र प्रतिक बिष्टलगायत चर्चित खेलाडीको सहभागिता रहेको छ । उद्घाटन अवसरमा पारा ओलम्पियन प्रकाश अधिकारी र अन्तर्राष्ट्रिय खेलाडी विवेक सुवेदीबीच मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएको शोभा केसीले जानकारी दिए ।
