दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि दशरथ रंगशालामा

पोखरा स्पोर्ट्स । नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताबारे जानकारी दिएकी हुन् ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीका आधारमा खेल सञ्चालन गरिनेछ ।

महिलातर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेश गरी ५ टोली सहभागी हुनेछन् । महिलातर्फ राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक संघका अध्यक्ष अनिलप्रसाद शर्माका अनुसार दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

महासचिव श्रेष्ठले यस प्रतियोगिताबाट राष्ट्रिय टोली छनोट गरी प्रशिक्षणको आवश्यक व्यवस्था गरिने जानकारी दिइन् । साथै ग्रासरुट तहदेखि नै हक्की खेलको विकास गर्ने उद्देश्यले विद्यालयस्तरमा हक्की विस्तार अभियान सञ्चालन गरिएको पनि उनले बताइन् ।

फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । हक्की संघकै आयोजनामा उक्त रंगशालामा पहिलोपटक हक्की प्रतियोगिता आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close