
पोखरा स्पोर्ट्स । पोखरामा जारी २५औं संस्करणको आहा! रारा पोखरा गोल्डकप मा प्लानिङ ब्वाइज युनाइटेडले शानदार प्रदर्शन गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । फ्रेन्च खेलाडी पापा आइबो केबेलेको ह्याट्रिकसँगै प्लानिङ ब्वाइजले फ्रेण्ड्स क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

हालै ए डिभिजनमा उक्लिएको प्लानिङ ब्वाइज युनाइटेडले पहिलो पटक प्रतियोगितामा मैदान उत्रँदै प्रभावशाली जित दर्ता गरेको हो ।
पापाले खेलको ४५, ५४ र ८१औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो ह्याट्रिक पूरा गरे। पहिलो गोलमा उनले फ्रेण्ड्सका डिफेन्सलाई चक्मा दिँदै उत्कृष्ट टचका साथ जाली चुमाए । दोस्रो गोलमा फ्रेण्ड्सका गोलरक्षक सरिन जिशी अफ गार्ड रहेको अवस्थामा शानदार प्रहार गरे । तेस्रो गोल झन् दर्शनीय रह्यो । करिब ३० यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहारलाई कसैले रोक्न सकेन ।
खेलको २७औं मिनेटमै प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । सेनेगलका एलेक्स विलिइनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । साहिल केसीको प्रहार डी–एरिया भित्र योगेश गुरुङको हातमा लागेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएका थिए ।
अब प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
पोखरा रंगशालामा प्लानिङ ब्वाइजको यो जितले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ । उसले अब विदेशी टोली आभा एफसी उज्वेक्स्तिान सँग क्वार्टरफाइनलमा भेट पक्का गरेको छ ।
