लगातार खराब प्रदर्शनपछि टोटेनहमका प्रशिक्षक थोमस फ्राङ्क बर्खास्त

पोखरा स्पोर्टस ।  इङलिश प्रिमियर लिग क्लब टोटेनहम हटस्परले मुख्य प्रशिक्षक थोमस फ्राङ्कलाई बर्खास्त गरेको छ । लगातार आठ खेल जितविहीन बनेपछि क्लबले यस्तो निर्णय गरेको हो ।

मंगलबार न्यूक्यासलसँग २–१ ले घरेलु मैदानमै पराजित भएपछि समर्थकहरूले असन्तुष्टि जनाएका थिए । उक्त हारसँगै टोटेनहम रेलिगेशन जोनभन्दा केवल पाँच अंक माथि मात्र रहेको छ । यस सिजन प्रिमियर लिगका २६ खेलमध्ये ११ खेलमा हार बेहोरेको टिमले सन् २०२६ मा एक पनि लिग जित निकाल्न सकेको छैन ।

डेनमार्कका फ्राङ्क गत जुन २०२५ मा एन्ज पोस्टेकोग्लुको स्थानमा नियुक्त भएका थिए । उनले च्याम्पियन्स लिगको लिग चरणमा टिमलाई चौथो स्थानसम्म पुर्‍याए पनि घरेलु लिगमा भने निराशाजनक प्रदर्शन रह्यो । प्रिमियर लिगमा उनको औसत अंक १.१२ प्रति खेल (२६ खेलमा २९ अंक) मात्र रहेको छ, जुन पाँचभन्दा बढी खेल सम्हालेका टोटेनहमका कुनै पनि प्रशिक्षकको सबैभन्दा कमजोर तथ्यांक भएको बताइएको छ ।

क्लबले विज्ञप्ति जारी गर्दै परिणाम र प्रदर्शनका आधारमा सिजनको यस चरणमा परिवर्तन आवश्यक ठानेको जनाएको छ । फ्राङ्कले भने आफू नै सही व्यक्ति भएको दाबी गर्दै कठिन परिस्थितिमा धैर्यता आवश्यक पर्ने बताएका थिए ।

अब टोटेनहमले नयाँ प्रशिक्षक नियुक्तिका लागि वैकल्पिक योजना अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close