
पोखरा स्पोर्टस । पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लबले विजयी सुरूवात गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा मछिन्द्र क्लबलाई २–० को गोलले पराजित गरेको हो ।
हाफटाइम सम्म बराबरीमा रहेको खेलमा ५४औं मिनेट जमैकन खेलाडी निकोलस हेमिलटनले गोल गर्दै जावलाखेललाई अग्रता दिए । शर्ट गोलकिकको पासलाई मछिन्द्रको गोल एरिया भित्रै खोस्दै उनले गोल गरे ।
दोस्रो गोल ६४औं मिनेटमा बौबुकार सिसोखोकोले गरे । सेनेगलका बौबुकारलाई सो गोल गर्न निकोलसले नै एसिष्ट गरेका थिए ।
मछिन्द्र पटक–पटक खेलमा फर्किन खोजे पनि त्यसलाई जावलाखेलका खेलाडीहरुले असफल बनाएका थिए । खेलमा निकोलस प्लेयर अफ दि म्याच बने ।
जावलाखेल यो जितसँगै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जावलाखेल २०६८ सालमा आहा रारा गोल्डकपको उपविजेता टोली समेत हो ।
अब जावालखेलले आइतबार हुने क्वार्टरफाइनलमा चर्च व्वाइजसँग भेट पक्का गरेको छ । भोली (विहिबार)को खेल शसस्त्र प्रहरीको एपिएफ क्लब र मनाङ मर्स्याङदीका बीच हुनेछ ।
