आहा ! रारा पोखरा गोल्डकपः सहाराको विजयी सुरुवात, प्रिती राई सम्मानित

पोखरा स्पोर्ट्स । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबार पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई १–० गोलले पराजित गर्दै सहाराले दोस्रो चरणमा स्थान बनाएको हो । सहाराको जितका लागि प्रसन्न श्रेष्ठले खेलको दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा निर्णायक गोल गरेका थिए । निर्णायक गोलसँगै प्रसन्न श्रेष्ठ ‘म्यान अफ दि म्याच’ घोषित भए । अब सहारा क्लबले शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रिती राईलाई वर्ष उत्कृष्ट खेलाडी सम्मान बाट सम्मान गरिएको थियो । उनलाई नगद ३५ हजार रुपैयाँ, सम्मान पत्र तथा दोसल्ला प्रदान गरिएको थियो । सम्मान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पुरस्कारका प्रायोजक खेमबहादुर गुरुङले संयुक्त रूपमा प्रदान गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले पोखरालाई खेलकुदको ‘हब’ का रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताए । उनले भगिनी सम्बन्ध रहेका विभिन्न देशका शहरहरूसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गर्दै पोखरा रंगशालामा फ्लडलाइट जडानका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्डकपले रजत जयन्ती मनाउनु सबैका लागि गर्वको विषय भएको उल्लेख गर्दै गोल्डकप तथा एकेडेमी सञ्चालनमा आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त अवसरमा आहा रारा पोखरा गोल्डकपलाई विभिन्न रूपमा सहयोग पुर्‍याउने २५ जना व्यक्ति तथा संघ–संस्थालाई विशेष सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close