
पोखरा, १ चैत । पहाडी क्षेत्रमा घोडा दौडमार्फत पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले आगामी चैत ६ गते घान्द्रुकमा आयोजना गर्न लागिएको खुल्ला घोडा दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।
घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको दोस्रो घोडा दौड प्रतियोगिताको सवै तयारी पुरा भएको शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
साहसिक खेलको रुपमा चर्चित घोडा दौड प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकको मन जितेर पर्यटनको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । ‘घोडा दौड प्रतियोगिताले पर्यटकिय देश नेपालको पहाडी र हिमाली क्षेत्रलाई साहसिक खेल घोडा दौडको लागि उपयुक्त छ भनेर अन्तराष्ट्रिय जगतमा चिनाउने हाम्रो विश्वास छ,’ आयोजक समितिका अध्यक्ष यमवहादुर गुरुङ्गले पत्रकार सम्मेलनमा भने ‘पहिलो प्रतियोगितामा जम्मा १८ जना सहभागि भएकोमा यसपटक भने झण्डै तीन गुणा वढि ५० जनाले सहभागि पक्का भईसकेको छ ।’ उनीहरुको रोमाञ्चक कला, कौशलले दर्शकहरुको समेत मन जित्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार, तेस्रोलाई २० हजार रुपयाँसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । सहभागिहरुलाई सवैलाई प्रमाणपत्र प्रदान गरिने आयोजक प्रचार प्रसार समितिका संयोजक अमृत गुरुङ्गले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुन चाहनेले आगामी ५ गतेभित्र नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ । प्रति सहभागि दर्ता शुल्क तीन हजार रुपयाँ तोकिएको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ५० हजार रुपयाँ लाग्ने अनुमान गरेको छ ।
