
पोखरा स्पोर्ट्स/ तस्बिर: सुदर्शन रन्जित/ “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुँदै आएको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण (रजत वर्ष) यही २०८२ माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरामा आयोजना हुने भएसंगै सम्पुर्ण तयारी पुरा भएको छ ।
विगत २५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतिष्ठित प्रतियोगिता सन्ध्याकालीन समयमा सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज एक अन्तिम पत्रकार सम्मेलन गरि तयारी पूरा भएको जानकारी दिएको हो।
२५औँ आहा! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहनेछ। जसमा ८ स्वदेशी, ३ विदेशी र आयोजक सहारा क्लब पोखरा रहेका छन्। स्वदेशी टिमहरूमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब रहेका छन्। विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारत (सिक्किम) को थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। यसका साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी लगायत विभिन्न विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने भाग्यशाली दर्शक र फ्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइनेछ।
सिजनल टिकटको मूल्य १ हजार २०० रुपैयाँ तोकिएको छ भने जर्सीसहित सिजनल टिकट ३ हजार रुपैयाँमा उपलब्ध हुनेछ। खेल अनुसार साधारण टिकट दर १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म कायम गरिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि. (आहा तथा रारा तयारी चाउचाउ) रहेको छ। पोखरा महानगरपालिका संरक्षकका रूपमा रहेको प्रतियोगितामा विभिन्न संघ–संस्था, व्यवसायिक घराना तथा खेलप्रेमीहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ।
यसैबीच, सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान यस वर्ष राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई प्रदान गरिने जानकारी पनि दिएको छ।
त्यसैगरी, आहा! रारा पोखरा गोल्डकपलाई २५औँ संस्करणसम्म आइपुग्न महत्वपूर्ण योगदान पुर्याउने २५ जना व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।
