भिजिबिलिटी कम हुँदा आर्मी र आयोजक टोलीबिचको उद्घाटन खेल स्थगित

पोखरा स्पोर्टस । पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।

पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल गर्‍यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे । ‘खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो । अब उक्त आइतबार गर्ने’ रेफ्रि थापाले बताए । ‘पर्सिदेखि लिग सुरु हुन्छ । भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल भइराखेको छ,’ उनले भने ।

यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो ।

यस्तै आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।

यस अघि प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सुचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरूङले गरे । उनले सो अवसरमा आयोजकले गरेको मेहनतका लागि धन्यबाद व्यक्त गर्दै गण्डकी सबै खेलकुदको लागि हव हुने बताए । उनले गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटनको राजधानी मात्रै नभई खेलकुद संगै शिक्षा र स्वास्थ्यको हव पनि बनाउनु पर्ने कुरामा जोड दिंदै मन्त्री गुरूङले पोखरामा हरेक दिन कुनै न कुनै महोत्सव आयोजना गर्ने गरी अघि बढ्नु पर्नेमा जोड दिंदै भने–“हामीहरुले जहिले पनि त्यही सपना बोकेर हिंडेको छौं । त्यो सपना बोकेर हिंड्न र सफल बनाउन म आग्रह गर्दछु ।” उनले पोखरामा हुने मौलिक कार्यक्रमहरुलाई सफल बनाउन सबैको खाँचो रहेको जनाउँदै पोखरालाई आइटि पार्कको रुपमा समेत विकास गरिने बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरालाई खेलकुदको हव बनाउन प्रतियोगिता महत्वपूर्ण रहेको जनाउँदै खेलकुद सामाजिक एकता र विकासका लागि समेत खेलकुद उत्तिकै अपरिहार्य रहेको जनाए ।

उद्घाटन कार्यक्रम टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष शर्माले टाइगर कप भलिबल प्रतियोगिता दर्शक र प्रायोजककै कारण यहाँ सम्म आउन सफल भएको जनाउँदै सहयोगीहरु प्रति आभार व्यक्त गरे । प्रतियोगिताले गण्डकी प्रदेशलाई भलिबल केन्द्रको हवको रुपमा विकास गर्न समेत सहयोग गरेको उनले जनाए । उनले भलिबल खेल विकासका लागि इन्डोर हलको निर्माण गर्न समेत जोड दिंदै प्रतियोगिताबाट बचत रकम शिक्षा, स्वास्थ्य र खेलकुदको विकासका लागि खर्च गरिने जनाए ।

फोटोः बसन्त शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close