विश्वकप टि२० ट्रफी पोखरामा, विभिन्न स्थानमा प्रदर्शनीमा राखियो

पोखरा स्पोर्ट्स । विश्वकप टि२० ट्रफी मंगलबार पोखरामा टुरसँगै प्रदर्शनी गराइएको छ । मध्यान्ह पोखरा ल्याइ पुर्याइएको सो ट्रफीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, परिषदका निवर्तमान कार्यकारी सदस्य ऋषी गौतमले स्वागत गरेका थिए ।

पोखराका विभिन्न पर्यटकिय गन्तव्यमा प्रदर्शनी गराइनु अघि पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले विश्वकप ट्रफी पोखरामा टुरका लागि ल्याइनु गौरवको विषय रहेको जनाउँदै नेपाली राष्ट्रिय टोलीललाई जितको शुभकामना दिए । उनले भने–“यो हाम्रो लागि गौरवको विषय हो । पोखरा जहाँ २०२९ मा यू–१९ महिला वर्ल्डकपको समेत आयोजना गर्ने तयारीमा छौं । त्यसका लागि समेत बल मिलेको छ । म नेपाली राष्ट्रिय टोलीलाई जितको अग्रिम शुभकामना दिन चाहन्छु ।”

सो अवसरमा परिषदका सदस्य रविन्सन प्रजु, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सिग्देल, क्यानका केन्द्रिय सदस्य सुदिप शर्मा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङ, गण्डकी र कास्की क्रिकेट संघका पदाधिकारीहरु, प्रशिक्षकहरु, खेलाडीहरुले विश्वकप ट्रफी सँग तस्विर खिचेका थिए ।

यसै बीच सो ट्रफी आज नै पोखरा लेकसाइडस्थित बाराहीघाटमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका उच्चपदस्थहरुको सहभागितामा प्रदर्शनी गरिएको थियो ।

यसै गरी सो ट्रफीलाई २२औं सस्करणको पल्सर स्पोर्ट्स अवार्ड सचिवालयमा प्रदर्शनीका लागि राखिएको थियो भने त्यस अघि मेथलाङ पार्कमा समेत प्रदर्शनी गरिए लगतै काठमाण्डौ पुर्याइने क्यानका केन्द्रिय सदस्य शर्माले पोखरा स्पोर्ट्सलाई जानकारी दिए । पोखरा स्पोर्ट्ससग कुरा गर्दै टि–२० विश्वकप ट्रफी नेपालमा आउनु नेपाली क्रिकेट विकासका लागि कोशेढुङ्गा हुने बताउँदै यति बेला नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा रहेको बताए ।

उनले भने–“विश्वकप ट्रफी काठमाण्डौ हुदै मौसमको खराबी हुदाहुदै पनि पोखरा ल्याएका छौं । यो हामी सबैले गौरव गर्ने विषय हो । नेपाली राष्ट्रिय टोलीले यो विश्वकपमा अपेक्षाकृत रुपमा उत्कृष्ट प्रदर्शन गर्नेमा क्यान विश्वस्त रहेको छ ।”

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् ।

टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

नेपालले विश्वकपमा आफ्नो पहिलो खेल इङल्याण्डविरुद्ध फेब्रुअरी ८ मा, दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो खेल वेस्ट इण्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close